काठमाडौं । म्याद गुज्रेका कस्मेटिक सामानमा नयाँ मिति राखेर बेचेको आरोपमा प्रहरीले आइतबार दुई जनालाई पक्राउ गर्यो। महानगरीय अपराध महाशाखाले आइतबार काठमाडौं महानगरपालिका वडा नम्बर १५ सानोभर्याङ र वडा नम्बर २२ भोटेबहालस्थित गोदाममा छापा मारेको थियो।
त्यो गोदाममा बडी स्प्रे, एयर फ्रेसनर, स्याम्पू तथा कार वास लगायतका म्याद गुज्रेका कस्मेटिक सामानहरू भेटिएका थिए। ती सामानमा नयाँ मिति राख्ने काम गोदाममा हुन्थ्यो।
महानगरीय अपराध महाशाखाले गोदामका सञ्चालक पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ घर भई काठमाडौंको छाउनी बस्ने ३१ वर्षीय अविनाश अग्रवाल र म्यानेजर भारतको राजस्थान घर भई काठमाडौं सानोभर्याङ बस्ने ४१ वर्षीय महावीर गजुरलाई पक्राउ गरेको थियो।
अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण पंगेनीका अनुसार अग्रवाल यो कामका मुख्य व्यक्ति हुन्। उनका एक व्यापारिक साझेदार छन्, उनी अहिले फरार छन्।अग्रवालको समिट इन्टरप्राइजेज नामक कम्पनी छ। समिट कम्पनीबाट सामान आयात-निर्यात गर्न थालेको चार वर्ष पुगेको छ।
‘उनले म्याद गुज्रेका सामानमा नयाँ स्टिकर टाँसेको कति भयो भन्ने चाहिँ खुलेको छैन, तर त्यतिकै समय भएको हुनुपर्छ,’ पंगेनीले भने।पंगेनीका अनुसार प्रहरीले गोदामबाट दुई करोड बराबरको सामानहरू बरामद गरेको छ। ती सामान कहाँ-कहाँ जान्थे भन्ने अनुसन्धान भइरहेको पंगेनीले बताए।
वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभाग बबहरमहल काठमाडौंको समन्वयमा गोदाममा सिलबन्धी गरी थप अनुसन्धान अघि बढाइएको उनले जानकारी दिए।पक्राउ परेकाहरूलाई कारबाहीको लागि विभागमा बुझाइएको छ।
महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ( एसएसपी ) चन्द्रकुबेर खापुङका अनुसार केही समयअघिदेखि म्याद गुज्रेका कस्मेटिक सामानहरू बजारमा पठाइरहेको गुनासो आएको थियो। अग्रवालले भारत तथा तेस्रो मुलुकबाट कस्मेटिक सामान ल्याउने गर्थे। त्यहाँबाट ल्याइएका सामग्री म्याद गुज्रेका हुन्थे भन्ने सूचना प्रहरीलाई छ।
‘म्याद गुज्रेका सामानमा नयाँ स्टिकर टाँस्ने गरेको पाइएको छ,’ खापुङले भने, ‘ठूलो परिमाणमा हामीले स्टिकर बरामद गरेका छौं।’उनका अनुसार गोदाममा भाटभटेनी सुपरमार्केट र बिगमार्टको लोगो भएका सामान पनि फेला परेका छन्। म्याद गुज्रेपछि भाटभटेनी र बिगमार्टका सामान यी व्यापारीको गोदाममा पुगेको देखिएको छ।
‘ती सामानमा अग्रवालले नयाँ स्टिकर टाँस्ने गर्थे, म्याद गुज्रेको मिति मेट्ने गर्थे,’ खापुङले भने, ‘ती सुपरमार्केटका सामान उनीहरूको गोदाममा पुग्नुको पछाडि मिलेमतोको आशंका गर्न सकिन्छ।’ अग्रवालले चीन र दुबईबाट म्याद गुज्रेका सामान सित्तैमा ल्याउँथे र भन्सार जाँचपास गराएर गोदाममा ल्याउँथे भन्ने सूचना प्रहरीलाई रहेको खापुङले बताए।
तर, यसको स्वतन्त्र पुष्टि हुन बाँकी रहेको र अनुसन्धान भइरहेको खापुङले बताए। भन्सार जाँचपास भएको कागजात, प्रज्ञापन पत्र लगायतको अध्ययन भइरहेको र यसबारे चाँडै केही थाहा लाग्ने खापुङ जानकारी दिए ।






