सिरहा । सिरहाको इलाका प्रहरी कार्यालय लहानबाट फलामको ग्रील काटेर थुनुवा फरार भएको प्रकरणमा तीन जना प्रहरीलाई निलम्बन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाले छानबिन समिति गठन गरी हिरासतबाट थुनुवा फरार भएको विषयमा छानबिन गर्दै तत्काल तीन जना प्रहरीलाई निलम्बन गरेको हो ।
इलाका प्रहरी कार्यालय लहानका प्रहरी सहायक नीरिक्षक (सई), एक प्रहरी हबल्दार एक प्रहरी जवानलाई तत्काल निलम्बन गरी छानबिन प्रक्रिया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवम् डिएसपी सुवास बुढाथोकीले जनाएका छन् ।
गत जेठ २० गते लागु औषध मुद्दामा पक्राउ परेका सिरहाको नवराजपुर गाउँपालिका वडा नम्बर १ बस्ने पशुपति यादव थुनुवा कक्षको झ्यालको ग्रील काटेर फरार भएपछि उनको सुरक्षामा बसेका तीन जना प्रहरीलाई निलम्बन गरेको हो ।
सो घटनाको छानबिनको लागि डिएसपी बुढाथोकीको नेतृत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरिएको डिएसपी बुढाथोकीले बताए । उनका अनुसार, फरार भएका यादव अझै पक्राउ परेका छैनन् भने तीन जना प्रहरीलाई तत्काल निलम्बन गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको हो ।


