चितवन । चितवनकी २३ वर्षीया सुजिता भण्डारीको मृत्युको कारण खुल्न सकेन्। मंगलबार साँझ गरिएको पोष्टमार्टम रिपोर्टमा मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा भण्डारीको हत्या वा आत्महत्या प्रमाणित गर्ने कुनै प्रमाण फेला नपरेको हो।
‘उनको शरीरमा कुनै पनि प्रकारको चोटपटक छैन्,’ पोस्टमार्टममा संलग्न त्रिवि शिक्षण अस्पतालका डाक्टर गोपाल चौधरीले बताए।यसले अनुसन्धानलाई थप पेचिलो बनाएको छ। अब उनको शरीरमा विषादीको मात्रा थियो वा थिएन लगायतका परीक्षण ल्याबमा हुनेछ। भण्डारीको शवनजिकै सिसाको बोतलमा पतेरो मार्न प्रयोग गर्ने विष भेटिएको प्रहरीले जनाएको छ।
अब सुजिताको भिसेरा परीक्षण हुनेछ। जसमा उनले जीवितै कुनै कुरा खाएको, सेवन गरेको वा अन्य गम्भीर रोग थियो कि भन्नेबारे त्यसपछिमात्रै खुल्ने प्रहरी अधिकारी बताउँछन्।पोष्टमार्टम रिपोर्टमा मृत्युको कारण नखुलेपछि प्रहरीले हत्या वा आत्महत्या के हो भन्न सकेको छैन। भिसेरालगायतको रिपोर्ट आएपछि आफूहरुलाई अनुसन्धानमा सहज हुने प्रहरी अधिकारीहरुको विश्वास छ।त्यस्तै, भण्डारीको बलात्कार भएको हुनसक्ने शंका पनि पोस्टमार्टमको प्रारम्भिक रिपोर्टबाट पुष्टि भएको छैन।
उनको योनीमा बलात्कार भएको कुनै संकेत देखिँदैन।
ब्रह्मास्थानी सामुदायिक वनमा मृत फेला परेकी सुजिता भण्डारीको शव पोष्टमार्टमका लागि काठमाडौं ल्याइएको थियो । चितवनको राप्ती नगरपालिका–३ घर भएकी २३ वर्षीया सुजिताको शव आइतबार साँझ ब्रह्मास्थानी सामुदायिक वनमा भेटिएको थियो ।चितवनका एसपी ओम अधिकारीले भने, ‘अहिलेसम्म कुनै क्लू फेला परेको छैन ।’ घरबाट हिँडेको १० दिनपछि मृत फेला परेकी सुजिताको मृत्युको कारण खुल्न सकेको छैन।
ब्यूरोबाट खटिएको टोली र चितवन प्रहरीले घटना अनुसन्धान गरिरहेका छन् । असार ११ मा बिहान ६ बजे घरबाट हिँडेकी सुजिताले त्यसैदिन दिउँसो दिदिलाई फोन गरेर आफू अपहरणमा परेको जानकारी गराएको परिवारले बताएका थिए ।आइतबार साँझ जंगलमा च्याउ टिप्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थल नजिकै विषादीको बट्टा पनि भेटिएको थियो ।
अर्की युवती बेपत्ता
नवलपुर जिल्लाको गैडाकोट–४ की २१ वर्षिया विना सापकोटा पनि बेपत्ता रहेको तथ्य बाहिर आएको छ । असार १४ गते रातिदेखि बेपत्ता सापकोटाको खोजी जारी रहे पनि हालसम्म कुनै सुराक प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ । बिनाका बुबा जायेश्वर सापकोटाले पनि लगातार खाजी गर्दासमेत छोरी फेला पार्न नसकेको जानकारी दिनुभयो ।
‘लगातार खोजेका छौँ, चितवन र गैंडाकोट प्रहरीलाई खबर गरेका छौँ । तर, अहिलेसम्म कुनै खोजखबर छैन,’ सापकोटाले भन्नुभयो । गैडाकोटको जनक कलेजमा बीबीएस तेस्रो वर्ष अध्ययनरत बिना आधि घण्टामै फर्केर आउँछु भन्दै साथीसँग घरबाट निस्केकी थिइन् । असार १४ गतेकै राति साथीको मोबाइलबाट अन्तिमपटक परिवारसँग सम्पर्क भएका थियो ।
उहाँले हराएको राति ३ पटक कुरा भएको र त्यसपछि छोरीको आवाज सुन्न नपाएको बताउनु भयो । यता अनुसन्धानका क्रममा प्रहरीले भरतपुरका एकजना युवालाई नियन्त्रणमा लिएको छ । गैडाकोटका प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले सो घटनाको अनुसन्धानको लागि एक जनालाई सोही दिन पक्राउ गरेर चितवन प्रहरीलाई बुझाइएको जानकारीदिनुभयो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा डीएसपी सूर्यबहादुर थापाका अनुसार पक्राउ परेका युवा बेपत्ता युवती बिनाका प्रेमी भएको खुलेको छ ।


