काठमाडौं । राष्ट्रिय सभाको आठौं अधिवेशन बिहीवार सुरु हुँदैछ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा अपराह्न ४ बजेका लागि बोलाइएको छ । प्रतिनिधिसभा दोस्रो पटक विघटन भएको अवस्थामा माथिल्लो सदनको बैठक सुरु हुन लागेको हो ।
प्रतिनिधिसभा विघटन भएको अवस्थामा आज राष्ट्रिय सभामा विपक्षी सदस्यहरुले मुलुकमा विविध समस्याका विषय उठाउने तयारी गरेका छन् । राष्ट्रिय सभाको सातौं अधिवेशन गत पुस २६ मा अन्त्य भएको थियो ।
गत पुस ५ गते पहिलो पटक प्रतिनिधिसभा विघटन भएको अवस्थामा राष्ट्रिय सभाको सातौं अधिवेशनको बैठक बसेको थियो । दोस्रो पटक गत बैशाख ७ गते राति राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा फेरि विघटन गरेको मुद्दा अहिले सर्वोच्च अदालतमा सुनुवाइका क्रममा छ ।
एउटा बैठक अन्त्य भएको ६ महिनामा अर्को बोलाउनुपर्ने संवैधानिक प्रावधान अनुसार राष्ट्रिपति भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको हो ।
बैठकको सुरुमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति भण्डारीले बैठक आह्वान गरेको पत्र र मन्त्रिपरिषद पुनर्गठन सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पनि पढेर सुनाउनुहुनेछ ।
राष्ट्रिय सभा सचिव राजेन्द्र फुँयालका अनुसार बैठकमा यसअघि सरकारले जारी गरेका १२ वटा अध्यादेश प्रस्तुत गरिनेछ । आजको बैठकले शोक प्रस्ताव पारित गर्ने कार्यसूची पनि छ । बैठकमा सहभागी हुने अध्यक्षदेखि राष्ट्रिय सभाका सदस्य, कर्मचारी, कर्यादापालक लगायतको एन्टिजेन परीक्षण गरिएको छ ।


