काठमाडौं । शान्ति स्थापनार्थका लागि दक्षिण सुडानमा खटिएका नेपाली सेनामा कार्यरत बाबु र छोराले एकै पटक युएनको पदकसहित सम्मानित भएका छन् । नेपाली सेनाका सहायक रथी दीपक बानियाँ (बाबु) र प्राविधिक उपसेनानी दिव्यप्रताप बानियाँलाई युएनले शुक्रबार पदकसहित सम्मान गरेको हो ।
दीपकले आफ्नो फेसबुकमार्फत युएन मिसनमा खटिँदा बाबु र छोराले एकै पटक पदक पाएको उल्लेख गरेका छन् । उनका अनुसार यसरी बाबुछोराले एकैपटक यूएन पदक पाएको समेत पहिलोपल्ट हो ।
दीपकले दक्षिण सुडानमा ६ वटा सेक्टरमध्ये पूर्वी सेक्टरमा कमान्ड गर्दै आइरहेका छन् । उनका छोरा दिव्य भने राजधानी जुवामा गोरखबहादुर गणमा कार्यरत छन् । दीपकले सामाजिक सञ्जालमार्फत नै यो पटक सुडानमा माओवादी लडाकुबाट नेपाली सेनामा समायोजना भएका दुई जोडी (श्रीमान् र श्रीमती) ले पनि शान्ति स्थापनार्थ उल्लेखनीय भूमिका खेलेको भन्दै युएनबाट प्रशंसा पदक पाएको उल्लेख गरेका छन् ।


