काठमाडौं। चोरी तस्करीको सामान वैध बनाउन भीसीटीएसमा पनि चलखेल भएको राजस्व अनुसन्धान विभागले फेला पारेको हो। ठगी गर्ने केही कम्पनीहरुका कागजात नियन्त्रणमा लिएर विभागले अनुसन्धान गरिरहेको छ।
भंसार परिसरमा आइपुगेर आयातकर्तासम्म मालवस्तु पुर्याउन्जेलको प्रक्रिया नियमन गर्न सशक्त मानेर प्रयोगमा ल्याइएको भेहिकल एण्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस) मा पनि ठगी भइरहेको भेटिएको छ।
ट्रान्सपोर्ट कम्पनीले अवैध सामाग्रीको कारोबार गर्ने गरेको खुल्न आएको छ। अनुसन्धानको घेरामा परेका कम्पनीहरुले देशका विभिन्न स्थानमा ढुवानी सेवा दिँदै आएका छन्।
खुला सीमाबाट चोरी पैठारी भएका सामान एक ठाउँमा भेला पार्ने र त्यहाँबाट विभिन्न कम्पनीका नाउँमा बिल काटेर पुर्याउने गरेको खुलेको हो। विभागले सानोभर्याङस्थित एक ट्रान्सपोर्ट कम्पनीले विभिन्न पसलको नाममा बिल जारी गरी सामाग्री ओसारपसार गर्ने गरिएको भेटिएको छ।अनुसन्धानमा एउटा ट्रक नियन्त्रणमा लिएर अनुसन्धान गर्दै जाँदा ट्रान्सपोर्टले एउटा कम्पनीको नाममा बिल काटिएको भेटियो।
बिल काटिएको कम्पनी खोज्दै जाँदा त्यसले कुनै मालवस्तु खरिद नै गर्ने नगरेको भेटियो तर त्यो ट्रान्सपोर्टले बिल काटेर कारोबार भने गर्ने गरेको भेटिएको छ ।विभागले जफत गरेको गाडीमा पाइएका सामानको आयात प्रक्रिया नै पूरा नगरेको खुलेको छ। यस्तो खुलेपछि विभागले उक्त ट्रान्सपोर्ट कम्पनीलाई कारबाही अघि बढाएको छ। ट्रान्सपोर्ट सञ्चालकलाई जरिवाना गरिएको छ।
यो घटनाले भीसीटीएस प्रणालीका पनि कमजोरी खोजेर कर छली गर्नेहरु सक्रिय रहेको खुलेको छ। भेहिकल एण्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस) लागू भएको दुई वर्ष पूरा हुन लाग्दा ३४ खर्बभन्दा बढी बिजक इन्ट्री भइसकेको छ। यो प्रणालीमा एक लाखभन्दा बढी सवारी आबद्ध भइसकेका छन्। यो प्रणालीको सुरुमा व्यवसायीहरुले विरोध जनाए पनि मुलुकको राजस्वमा ठूलो योगदान पुगेको राजस्व अनुसन्धान विभागको भनाइ छ।
भीसीटीएस लागु भएको २३ महिनामा विभागले कारबाहीबाट मात्र ६ करोड भन्दा धेरै रकम जरिवाना असुलउपर गरिसकेको जनाएको छ।विभागले यो प्रणाली लागू गर्नुभन्दा पहिले विभिन्न स्थानमा १० वटा शाखा कार्यालय खोलेको थियो। यी कार्यालयमा कर्मचारीले नै मिलेमतो गरी बिल व्यवसायीलाई नै फिर्ता गर्ने गरेको पाइएपछि भीसीटीएसको अवधारणा अघि सारिएको थियो।
विभागले भीसीटीएसमा ठगी नियमन गर्न जसको नाममा बिल काटिएको हो, ती व्यवसायीलाई फोन गरेर छड्के जाँच गर्न सकिने व्यवस्था गर्न लागेको छ।


