बाँके । बाँकेस्थित भेरी अस्पतालमा बिहीबार राति चिकित्सकमाथि आक्रमण भएको घटनाको विषयमा स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन् । उक्त अस्पतालमा एक कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि आक्रमण गरेका थिए ।
उक्त आक्रमणपछि सुरक्षा व्यवस्थालाई लिएर स्वास्थ्यकर्मी आन्दोलमा उत्रिएको बताएका छन् । स्वास्थ्यकर्मीहरूले राजनीति चाहिँदैन, स्वास्थ्यकर्मी कुट्न पाइँदैन, नो सेक्युरिटी, नो वर्क, दोषीलाई कारबाही गर, हामीलाई न्याय चाहियो, नेताको पावर चाहिँदैन, पुलिस प्रशासन हायहाय लगायतका नारा लगाउँदै अस्पताल परिसरमै विरोध जनाएको छन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले ज्यानै लिनेगरी भएको घटनामा दोषीले कडा कारबाही हुने कुराको आशंकामा स्वास्थ्यकर्मीहरू सन्त्रासमा रहेको बताए । स्वास्थ्यकर्मीहरू अस्पताल परिसरमा बाहिरै भेला भएर विरोध जनाएका छन्, स्वास्थ्यकर्मीहरुले काम भने नरोकेको मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले जानकारी दिए ।
भेरी अस्पतालको सिप्याप भेन्टिलेटरमा उपचाररत गम्भीर अवस्थाका विरामी दाङका ५४ वर्षीय संक्रमितको मृत्यु भएपछि मृतकका आफन्त आक्रोशमा आएर अस्पतालमा तोडफोड गर्दै स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका सथए । डा. थापाले चिकित्सकहरुले उनलाई बचाउन हरसम्भव गरिरहेको प्रयास सफल हुन नसकेको जानकारी दिँदै उपचार गराइरहेका आफन्तको मृत्युपछि केही मानिसले डाक्टर तथा नर्समाथि कुटपिट गरेको बताए । उनीहरूले अस्पतालसमेत तोडफोड गरेका थिए ।
मृतकका आफन्तहरूको आक्रमणले ४ जना नर्सिङ स्टाफ र एकजना चिकित्सक घाइते भएका छन् । आइसियु कक्षमै डाक्टर र नर्सहरूमाथि हातपात भएको प्रत्यक्षदर्शीले बताएका छन् । आक्रमणबाट डाक्टर दीपक गुप्ता, डाक्टर चन्द्रप्रकाश साहु, डाक्टर समा अन्सारी, स्टाफ नर्स आश्विन गुरुङ, सदीक्षा गैरे, बन्दना श्रेष्ठलाई चोटपटक लागेको भेरी अस्पताल प्रशासनले जानकारी दिएको छ ।


