सुर्खेत । अक्सिजन प्लान्ट खरिदमा अनियमितता भएको आरोप लागेको छ । जिल्ला अस्पताल सल्यानमा अक्सिजन प्लान्ट खरिदमा अनियमितता भएको आरोप लागेको हो । कोरोना महामारीको बेलामा अस्पतालले अक्सिजन प्लान्ट खरिदको लागि ठेक्का दिएको ठेकेदारले अक्सिजन सिस्टम जेनेरेटर खरिद गरिदिएपछि यो खरिद प्रक्रिया विवादमा परेको हो ।
अस्पतालले २०७७ साल पौष १३ गते पहिलो पटक प्रकाशित सूचना जारी गर्दै अक्सिजन प्लान्ट खरिदको लागि बोलपत्र आह्वान गरेको थियो । अक्सिजन प्लान्ट खरिदको जिम्मा सुर्खेतमा रहेको ड्रागन मेडिटेकले पाएको थियो । तर उसले अक्सिजन प्लान्ट ल्याउने सम्झौता विपरीत अक्सिजन सिस्टम जेनेटर ल्याएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक डा. रविन खड्काले जानकारी दिए ।
खड्काका अनुसार प्रदेश स्वास्थ्य निर्देशनालय र सल्यान अस्पतालले अक्सिजन प्लान्ट खरिद गर्न सूचना निकालेको थियो । तर, ठेकेदारले आफूखुसी अक्सिजन प्लान्ट नभई अक्सिजन सिस्टम जेनेटर खरिद गर्दा विवादमा आएको बताए ।आयातकर्ता ठेकेदारले अर्कै सामग्री पठाएको र त्यो माग अनुसारको सामग्री नभएकाले त्यसलाई नराखिने निमित्त निर्देशक खड्काले जानकारी दिए ।
‘सम्झौता विपरीत सामग्री पाइएकोले ठेकेदारलाई भुक्तानी दिइएको छैन् ।उक्त मेसिन अस्पतालमा शनिबार मात्रै जडान गरिएको थियो । अक्सिजन प्लान्टको ठाउँमा ‘अक्सिजन कन्सर्नट्रेटर’ भएको जडानका क्रममा थाहा पाइएको जिल्ला स्वास्थ्य कार्यालय सल्यानका प्रमुख दशरथ श्रेष्ठले बताए । उक्त मेसिन फिर्ता पठाउनुको विकल्प नरहेको प्रमुख श्रेष्ठ बताए ।
आयातकर्ता ड्रागन मेडिटेकका संयोजक गगन शाहीले भने अक्सिजन सिस्टम जेनेरेटरले पनि अक्सिजन कन्सर्नट्रेटर र अक्सिजन प्लान्ट जस्तै अक्सिजन उत्पादन गर्ने भएकाले नयाँ मेसिन खरिद गरिएको बताए ।योबाट प्रति मिनेट ४० लिटर अक्सिजन उत्पादन हुन्छ,’ उनले भने, ‘निर्देशनालय र अस्पतालले निकालेको सूचनाकै आधारमा मेसिन खरिद गरिएको हो ।’ उक्त मेसिन राजस्व बिना ३५ लाखमा खरिद गरेको हो ।
यो खरिद प्रक्रियामा कमिसनको खेल रहेकोले यो विवादमा आएको छ । खरिद प्रक्रिया विवादमा आएसँगै अनियमितताबारे छानबिनको लागि प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन भएको छ ।
अक्सिजन प्लान्ट खरिदबारे विवाद भएपछि स्वास्थ्य कार्यालयका कर्मचारीलाई बोलाएर छलफल गरेको र कर्मचारीहरूले पनि यसबारे अनभिज्ञ रहेको बताएको प्रजिअ हुमागाईले बताइन् ।
अलिबाबाको अनलाइन सपमा २ लाख ४६ हजारदेखि २ लाख ८१ हजारसम्म पर्ने अक्सिजन कन्सन्ट्रेटरलाई स्वास्थ्य कार्यालय सल्यानले ५१ लाखमा खरिद गरेको भन्दै जिल्ला प्रशासनमा उजुरी समेत आएको प्रजिअ हुमागाईं बताइन् ।


