काठमाडौं । एमाले भित्रको विवाद मिलाउने प्रयासस्वरुप सिंहदरबारमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच ‘वान टु वान’ वार्ता भएको छ ।
आइतबार दिउँसो दुई नेताबीचको वार्ता विवाद समाधान गर्न गठन गरिने भनिएको कार्यदलका सदस्यहरुको टुंगो लगाउन भएको बताइएको छ । यसबारे सहमति जुटे नजुटेको बारे नेताहरुले प्रतिक्रिया दिइसकेका छैनन् ।
गत शुक्रबार सिंहदरबारमा भएको छलफलले जेठ २ लाई आधार बनाएर पार्टीभित्रका समस्या समाधान गर्ने र त्यसका लागि दुई नेतालाई कार्यदलमा रहने सदस्यहरुको टुंगो लगाउने जिम्मा दिएको थियो । माधव नेपाल समूहबाट कार्यदलमा रहने व्यक्ति लगभग टुंगो लागेपनि अध्यक्ष ओलीका तर्फबाट विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोख्रेलबाहेक अन्यको टुंगो लाग्न बाँकी रहेको थियो।
नेपाल पक्षबाट भने कार्यदलमा भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त रहने यसअघि नै टुंगो लागेको थियो ।


