पर्सा । सशस्त्र प्रहरी बल नेपालले जिल्लास्थित ७ वटा बोर्डर आउट पोस्ट (बीओपी) मा सीसीटीभी क्यामेरा जडान गरेको छ । प्रहरी प्रधान कार्यालयको लगानीमा बीरगन्ज भन्सार, सिर्सिया, अलौं, अमरपट्टी, भिस्वा, सुवर्णपुर र ठोरी बीओपीमा क्यामेरा जडान गरिएको हो ।
सशस्त्र प्रहरी जिल्ला कार्यालयका प्रहरी नायब उपरीक्षक निर्मलकुमार थापाका अनुसार भन्सार बीओपीमा ४ वटा र अन्यमा ३/३ वटाको दरले क्यामेरा जडान गरिएको हो । जिल्लामा १७ वटा बीओपी छन् । ‘कतिपय स्थानमा केबलको अभावले समस्या भएको छ,’ थापाले भने, ‘मुख्य नाका तथा बढी मुभमेन्ट भएका नाकास्थित बीओपीलाई प्राथमिकतामा राखेका छौं ।
सबै बीओपीका क्यामेराको कनेक्सन जिल्लास्थित सशस्त्र प्रहरी उपरीक्षक नेतृत्वको कार्यालयसँग रहनेछ । सीमा अनुगमन र सीमामा हुने चोरी पैठारी नियन्त्रणका लागि यस्तो अभियान सुरु गरिएको थापाले बताए ।


