रोहित कुमार मण्डल
लहान । प्रत्येक दिन सैयौको संख्यामा नेपाल लगायत छिमेकी मुलुक भारतको विहार राज्यबाट यहा स्थीत विभिन्न धार्मिक तिर्थ स्थलहरुको दर्शन गरी जाने गरेको स्थानीयवासीहरुले बताएका छन् । यस्तै मान्यता छ सिरहाको विभिन्न धार्मिक स्थलहरुको ।
एक एक हप्ता फुलको बोटमा फूलहरु फुल्नु कुनै अनौठो कुरो होइन तर एउटै रुखमा सातोशताब्दी देखि वर्षको पहिलो दिन मात्र फूल्नु आश्चर्य तथा रोचक नै भन्न सकिन्छ । त्यो पनि माला आकारको लहरे फूल फूल्नु र साँझ पख मौलाएर जानु दर्शक तथा बनस्पतिविद बीच कौतुहलको बिषय भएको छ ।
सगरमाथा अंञ्चलकोे प्रमुख व्यापारी केन्द्र लहान बजारदेखि पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पडरिया चोकदेखि दक्षिणमा रहेको एउटा ऐतिहासिक तथा धार्मिक फूलबारी मा प्रत्येक वर्ष बैशाखको पहिलो दिन सो फूल फूल्ने गरेको पाइन्छ । करिब नौ विग्हा क्षेत्र फलमा फैलिएको सो फूलबारीमा दलितहरु मध्ये दुसाद जातीको कुल देवता सलहेशको नाममा सलहेश फूलबारी को नामले प्रसिद्धि पाएको छ ।
फूलबारीको मध्य भागमा रहेको हारम नामको रुखमा प्रत्येक वर्ष बैशाखको पहिलो दिन एक दिनको लागि मात्र सेतो माला आकारको फूल फूल्ःने गरेको छ । सो दिन एका बिहानै एक्कासी उक्त रुखमा फूलको थुग्गो फूल्ने गरेको र सोही दिन साँझ पख स्वत ः मौलाएर जाने कार्यले धर्मालम्बीहरुलाई अबिस्मरणीय र अविस्वसनिय लाग्दछ । तर यो यथार्थ यसमानेमा सत्य हुन जान्छ की उक्त फूल सात सय वर्षदेखि यसै प्रकार वर्षको पहिलो दिन फूल्नु र साँझमा मौलाएर जाने प्रकृया चलिरहन्छ ।
ती रुख के का हुन ? कसरी यतिका दिन सम्म बाचिरहेका छन । भन्ने प्रश्न बनस्पतिविदहरुको लागि अध्यन अनुसन्धानको बिषय बनेको छ । प्रत्येक वर्ष वैशाख १ गते सो वनमा लाग्ने मेला भर्न आउने धर्मालम्बीहरुबिच लोकप्रिय रहेको फूल फूल्ने रुखलाई पूजा गर्ने परम्परा समेत रहि आएको छ । रुख छेउ मै राजा सलहेश र दिना मालिनीको मन्दिर( (गहवर) छ ।
भनिन्छ साँचो मनले त्यहाँ जस्ले भाकल गर्दछ उसको मनोकामना पूरा हुने गरिन्छ । मन्दिरमा सलहेश र दिना मालिनीको भव्य मूर्ती रहेको छ । त्यहाँका पूजारीका अनुसार मन्दिरको पछाडी काँचको कुवा र बलि गंगा नदी बग्ने गरेको र कुवा कहिले काही आकल झुलक मात्र देखा पर्दछ ।
धार्मिक विश्वास अनुसार प्रत्येक वर्ष बैशाखको पहिलो दिन दिनामालिनीले राजा सलहेशको प्रतिक्षामा माला भएर देखा पर्ने गर्दछिन । सिरहा जिल्ला भित्र पूर्व कर्णाटककालिन अवशेषहरु रहेको छ । यस जिल्लाको मान्यतालाई हेर्ने हो भने अत्यधिक सम्मान पाएका राजा सलहेश दुषाद जातीका कूल देवता भएपनि सबै जातजाति को लागि त्यतिकै पूजनिय र सम्मानित रहेको छ । स्थानीय स्तरमा गरिने लोक नाचहरुमा राजा सलहेशको वर्णन बिस्तुत रुपमा गरेको पाइन्छ । सिरहा जिल्लामा गाउने लोकगाथामा राजा सलहेश को पराक्रम र विरताको वर्णन गरिएको पाइन्छ ।
भनिन्छ–सलहेश एकै दिनमा मानिक दहमा नुहाउने, फूलबारीमा फूल टिप्ने, सिल्हट आखाडामा कुस्ती खेल्ने, सलहेश गढमा कूलदेवीको पूजा गर्ने र प्रजाको विरमर्का सुन्ने गरिन्थ्यो । इतिहास अनुसार वि.स. १३२५ मा सिरहा जिल्लाको महिसोथा राज्यको राजा सलहेश र उनकी पे्रयसी मालिनी बिचको प्रेम विवाहको लागि प्रसिद्ध रहेको सलहेश फूलबारीमा प्रेम विवाह गर्दा दाम्पत्य जीवन सफल हुने धार्मिक विश्वास रहिआएको छ ।
भनिन्छ यस फूलबारी भित्र रहेको हारमा रुखलाई युवायुवतीहरुले लव प्वाइन्टको रुपमा लिएका छन । युवायुवती बिच हुने प्रेम कथालाई जिवन्तता प्रदान गर्न उक्त हारमको रुखलाई साक्षी मानेर विवाह गरे अमर हुने जनविश्वास रहि आएको छ ।
यस्तो अनौठो रुख र त्यसमा वर्षको एक पटक मात्र फूल्ने फूलको बारेमा राष्ट्रिय स्तरमा अनुसन्धान हुनु पर्ने र सरकारले यसलाई पर्यटकीय स्थलको रुपमा विकास गर्नू पर्ने विज्ञहरुको माँग रहेको छ ।


