एजेन्सी । अमेरिकी विदेश मन्त्रालयले एक प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा सुरक्षा निकायबाट थुप्रै गैरन्यायिक हत्या भएको प्रतिवेदन सार्वजनिक गरेको छ। नेपालसहित विश्वव्यापी मानवअधिकारको अवस्थाबारे अमेरिकी विदेश मन्त्रालयले एक प्रतिवेदन सार्वजनिक गरेको हो । अमेरिकाले नेपालमा थुप्रै गैरन्यायिक हत्या भएको तथ्य उल्लेख गर्दै प्रतिवेदन सार्वजनिक गरेको छ ।
‘२०२० काउन्ट्री रिपोर्टस् अन ह्युमन राइट्स प्राक्टिस : नेपाल’ नामको प्रतिवेदनमा गैरन्यायिक हत्या, मनोमानी रुपमा हिरासतमा लिने, अभिव्यक्ति स्वतन्त्रतामाथि प्रतिबन्ध, प्रेस स्वतन्त्रता जस्ता विषयमा सरकारी पक्षबाट नै मानवअधिकारको उल्लंघन भएको जनाइएको छ ।
त्यस्तै, नेपाली सेना र नेपाल प्रहरी जस्ता सुरक्षा निकायको संलग्नतामा गैरन्यायिक हत्या भएको भन्दै प्रतिवेदनमा सरकारी पक्षबाट राम्रोसँग छानबिन गरेर दोषीलाई कारबाही नभएको उल्लेख गरिएको छ । प्रतिवेदनमा गत जुन १० मा धनुषामा प्रहरी हिरासतमा आत्महत्या गरेका दलित समुदायका शम्भु सदादेखि जुलाई १६ मा नेपाली सेनाको यातना पाएपछि मृत्यु भएका राजकुमार चेपाङसम्मको प्रसंग उल्लेख गरिएको छ ।
सदाले एकजना महिलालाई गाडी दुर्घटनामा ठक्कर दिंदा मृत्यु भएको थियो । त्यसपछि उनले प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए । पछि उनले प्रहरीले हिरासतमै आत्महत्या गरेका थिए । तर, परिवारले भने प्रहरीले यातना दिएको आरोप लगाउँदै आएका छन् ।यस्तै, चितवन राष्ट्रिय निकुञ्जको निषेधित क्षेत्रमा प्रवेश गरेको भन्दै चेपाङ र उनका ६ जना साथीहरुलाई सुरक्षाका लागि तैनाथ एक सैनिकले उनीहरुलाई नियन्त्रणमा लिएका थिए ।
राजकुमारसहित सात जना जंगलमा न्युरो, अमिलो र खोलाका घोगी टिप्न भन्दै गत साउन १ गते दिउँसो घरदेखि हिँडेका थिए । राप्ती खोला तरेर चितवन राष्ट्रिय निकुञ्जको सिमानाभित्र रहेको ज्युँडी खोलामा घोगी टिप्दै गर्दा निकुञ्जको सुरक्षाका लागि तैनाथ एक सैनिकले उनीहरुलाई नियन्त्रणमा लिएका थिए ।
कुटपिटपछि बिरामी भएका राजकुमारको साता दिनपछि उपचारका लागि भरतपुर अस्पताल लैजादा मृत्यु भएको थियो । यस्तै, सर्लाहीमा विप्लव नेतृत्वको नेकपाका नेता कुमार पौडेल मारिएको घटनाबारे पनि प्रतिवेदनमा उल्लेख छ ।
नक्कली इन्काउन्टर गरिएको भनी मानवअधिकारवादी संघ संस्थाहरुले आरोप लगाएको उक्त घटनामा पनि मानवअधिकारी हनन भएको जनाइएको छ । प्रतिवेदनमा कोरोना महामारीको क्रममा सडकमा निस्कने सर्वसाधारणलाई अनावश्यक दुःख दिइएको पनि उल्लेख छ । त्यसबेला सजायस्वरुप प्रहरीले घण्टौं बाटोमा उभ्याउनेलगायतको अमानवीय व्यवहार गरेको जनाइएको छ ।
प्रतिवेदनले नेपालका जेल र हिराशतको अवस्था निकै खराब रहेको तथा अन्तर्राष्ट्रिय मापदण्ड पूरा नगरेको विषय पनि उठाएको छ ।