- रोहित कुमार मण्डल
बरियारपट्टि । सिरहाको दक्षिण सिमावर्ती क्षेत्रमा रहेको बरियारपट्टी गाउँपालिका – १ को कचनारीमा रहेको रहेको आधारभूत विधालयमा करिब ६ महिनादेखि दुई जना शिक्षक आफु प्रधानाध्यापक रहेको दावी गर्दै बिधार्थीको भविष्य अन्यौलमा परेका छन् ।
विद्यालयमा प्रधानाध्यापकको विषयमा विवाद सृजना हुँदा विद्यार्थीको भविष्य अन्यौलमा परेको छ । कक्षा ८ सम्म संचालनमा रहेको सो विधालयमा २०७७ भदौ १७ गतेदेखि प्रधानाध्यापकको बिषयमा आपसी विवाद चल्दै आईरहेको छ । प्रधानाध्यापकको विषयमा आपसी विवादका कारण उच्च अदालत जनकपुर राजविराज इजलासमा मुद्दा दायर भएको छ ।


चार वटा शिक्षक मात्र रहेको सो विद्यालयमा दुई जना शिक्षकबीच निमित्त प्रधानाध्यापकको विषयमा विवाद हुँदा सो विद्यालयको पठनपाठन समेत प्रभावित भएको स्थानिय संचारकर्मी मुकेश यादवले बताएका छन् । विद्यालयका तत्कालीन प्रअ सहदेव यादव २०७७ वैशाख १० गते अनिवार्य अवकाश भएपछि विद्यालयको सम्पुर्ण प्रशासनिक कामकाज समेत निमित्त प्रधानाध्यापक रामनाथ भगत यादवले नै प्रधानाध्यापकको रुपमा गर्दै आईरहेका थिए ।
शिक्षा विकास तथा समन्वय ईकाइ सिरहा कार्यालयले कार्यगत वरिष्ठताको आधारमा प्रअ यादवलाई मान्यता दिईरहेको वेला गाउँपालिकाले मिति २०७७ भदौ १७ गतेका दिन सोही विद्यालयमा काजमा हनुमान प्रसाद शारदा मावि भगवानपुरबाट विन्देश्वर प्रसाद यादवलाई निमित्त प्रधानाध्यापकको रुपमा पठाएर विवाद खडा गरेको शिक्षक यादवले जानकारी गराए ।
उनका अनुसार, गाउँपालिकाले काजमा पठाएको विन्देश्वर प्रसाद यादवलाई विद्यालय सहमति नदिए पनि हाजिर नै नगराई कसरी प्रधानाध्यापक भयो विन्देश्वर यादवलाई काज फिर्ताको लागि शिक्षा विकास तथा समन्वय ईकाइ सिरहाबाट मिति २०७७ माघ २० गते आधिकारीक रुपमा पत्र आईसकेको भए पनि उनले विद्यालय नछाडेको शिक्षक यादवले आरोप लगाए ।
शिक्षक यादव आफूलाई प्रअ सावित गर्न अदालतमा मुद्धा दायर गरेको छ । अदालतको फैसलाको सुनवाई चैत्र ८ गते छ । ऐनमा सेवा निवृत्त हुन लागेका प्रधानाध्यापकले विद्यालयको सम्पूर्ण जिम्मेवारी वरिष्ठताको आधारमा सोही विद्यालयको कुनै शिक्षकलाई दिनुपर्छ । विद्यालयमा कुनै शिक्षक हाजिरी हुँदा सो को सहमति अहिले स्थानीय तहको सिफारिसमा शिक्षा विकास तथा समन्वय ईकायले सरुवा गर्ने प्रावधान रहेको छ ।
यता अर्का प्रधानाध्यापकको दावी गर्दै आइरहेका विन्देश्वर प्रसाद यादवले भने, ‘मलाई गाउँपालिकाले मिति २०७७ भदौ १७ गते निमित्त प्रधानाध्यापकको लागि पत्र दिएको छ । गाउँपालिकाले काज फिर्ता पठाएमा आफू स्वयंनै विद्यालयबाट गइहाल्छु ।’ शिक्षा विकास तथा समन्वय ईकाइले पठाएको काज फिर्ताको आधिकारिक पत्र आफुले अहिले सम्म प्राप्त नगरेको शिक्षक यादवले जिकिर गरे । कार्यालयको कुनै काम पर्दा दुवै जना शिक्षकले आफू खुसी विद्यालयको लेटरप्याडमा हस्ताक्षर गरि आफू नै प्रअ रहेको दावी गर्दै आईरहेका छन् ।
गाउँपालिका शिक्षा शाखा प्रमुख पतासी यादव भन्छन्(रामनाथ भगत यादव प्रा. शि. द्वितीय रहेको र विन्देश्वर यादव नि.मा. शि. रहेकोले तहगत र उपल्लो हिसाबले गाउँपालिकाले विन्देश्वर यादवलाई नै निमित्त प्रअको सम्पूर्ण अधिकार दिएको थियो । तर तत्कालीन ईकाइ प्रमुखले विन्देश्वर यादवको काज फिर्ता गरि दिएकोले विद्यालयमा प्रअको विवाद चुलिँदै आएको छ । शिक्षा अधिकृत यादवका अनुसार रामनाथ यादवले विन्देश्वर यादवलाई वरबुजारथ नबुझाएका कारण रामनाथ यादवको तलब साउनदेखि रोक्का भएका छन् ।
अदालतको फैसला नभएसम्म विद्यालयमा प्रअको दरबन्दी खाली नै रहने शिक्षा अधिकृत यादवको तर्क रहेको छ । विद्यालयमा ४ सयको हाराहारीमा विद्यार्थीहरु अध्यनरत गरिरहेका छन् । एउटा कार्यालय सहयोगी र प्रअ लगायत ४ जना शिक्षकमा दुई जना बालविकासको महिला शिक्षक रहेका भरमा विद्यालयमा कक्षा संचालन भइरहेको छ । विद्यालयमा कक्षा कोठाको पनि चरम अभाव रहेको छ, जसका कारण कक्षा १ देखि कक्षा ३ सम्मका विद्यार्थीहरु एउटै कोठामा अध्ययन गर्न बाध्य छन् भने कक्षा ४ र ५ एउटा कोठामा र ६,७ का विद्यार्थीहरुले एउटा कक्षा कोठामा अध्ययन गर्नु परिरहेको विद्यार्थीहरुले बताएका छन् ।
कुनै वर्ष पनि पाठयक्रम अनुसारको पढाई नभएको र कहिले पनि सम्पूर्ण घण्टी पढाई नभएको विद्यार्थीहरुले गुनासो गरेका छन् । विद्यलयमा ५ वर्ष भन्दा बढी भयो व्यवस्थापन समिति नबनेको । विद्यालयमा व्यवस्थापन समिति नहुँदा विद्यालयमा दिवा खाजा कार्यक्रम पनि संचालन हुन सकेको छैन ।
विद्यालयमा फर्निचरको राम्रो वयवस्था नहुँदा तल्लो तहका विद्यार्थीहरु भुईंमै बसेर अध्ययन गर्न बाध्य छन् । विद्यालयमा स्वच्छ खानेपानी र शौचालयको समेत उचित प्रबन्ध नरहेको विद्यार्थीहरुले गुनासो गर्दै आइरहेका छन् ।