काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) का अध्यक्ष केपी ओलीले राज्यका सबै अंग र साधन स्रोत कब्जा गर्न खोजेको बताएका छन् ।
ओलीले सद्दाम हुसेन, परवेज मुसर्रफ तथा हुन सेनले जस्तै चुनाव गराएर आफू चक्रवर्ती बादशाह बनिरहने सपनाबाट पछि हट्ने छाँटकाँट नदेखाएको डा.भट्टराईको टिप्पणी छ ।
बुधबार बिहान ट्विट् गर्दै डा.भट्टराईले ओलीलाई छिटो विदा गर्न र लोकतन्त्र तथा संविधानको रक्ष गर्न चुकेमा इतिहासले माफी नदिने पनि बताएका छन् ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको सर्वदलीय बैठकमा ओलीले संसद भंग गर्न दलहरुसँग सुझाव मागेका थिए । तर, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायतले ओलीको त्यस भनाइको प्रतिवाद गरेका थिए ।
त्यस्तै मंगलबार बालुवाटारमा आयोजित चियापानमा ओलीले प्रतिनिधिसभा विघटन गर्नुको औचित्य पुष्टि हुँदै जाने उल्लेख गरेका थिए । ओलीले यस्तो बताइरहेका बेला पूर्वप्रधानमन्त्री डा. भट्टराईले पछिल्लो प्रतिक्रिया दिएका हुन् ।