जसपा शीर्ष नेताहरु सत्ता समीकरणबारे निर्णय गर्न बैठकमा

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालको पदाधिकारी बैठक भर्खरै सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने वा नजाने भन्ने विषयमा दुई धार भएपछि पार्टी कार्यालय कुमारीपाटीमा आज पनि पदाधिकारी बैठक बसेको हो।

यसअघि बुधबार बसेको जसपाको पदाधिकारी बैठक कुनै निर्णय गर्न सकेको थिएन। आजको बैठकबाट सर्वसम्मत निर्णय गर्ने उसको तयारी छ। जसपाभित्र तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) पक्ष सरकारमा जाने र समाजवादी पार्टी नजाने लाइनमा प्रस्तुत भएपछि विवाद बढेको छ। अहिलेको राजनीतिक घटनाक्रमको बारेमा साझा धारणा बनाएर जानको लागि बैठक बसिरहेको हो।

नेकपा एमालेले पनि आफ्नो सरकार जोगाउन जसपालाई सत्तामा आउन प्रस्ताव अघि सारेको छ। जसपाका अधिकांश नेता/कार्यकर्ताले संविधान संशोधनसहित रेशम चौधरीलाई रिहा गर्नुपर्ने, मुद्दा फिर्तालगायत विषयलाई केन्द्रमा राखेर सरकारमा जाने/ नजाने निर्णय गर्नुपर्ने मत राखेका छन्। नयाँ सरकार बनाउन र प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता जोगाउनको लागि जसपा निर्णायक मानिएको छ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई मान्यता नदिएपछि बन्न लागेको नयाँ सत्ता समीकरणबारे दलहरुबीच छलफल भइरहेको छ। जसपामा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, वरिष्ठ नेताहरु अशोक राई र राजेन्द्र महतोले पार्टीमा शीर्ष नेताहरुको भूमिका खेल्ने गरेका छन्।

जसपाका अध्यक्ष ठाकुर र महतोले सत्ता समीकरणका विषयमा प्रधानमन्त्री ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरिरहेका छन्। सत्ता समीकरणका बेला तानातानको अवस्थामा रहेका जसपाका नेताहरु विभाजन हुनसक्ने आशंका समेत भइरहेका बेला शीर्ष नेताको बैठक बसेर पार्टीको नीतिमा एकरुपता कायम गर्न खोजिएको एक नेताले बताए।

जसपामा प्रधानमन्त्री ओलीलाई साथ दिएर जाने कि ओलीविरुद्ध आन्दोलन गरेका दलहरुसँग मिल्ने भन्नेमा दुई धार छ। ‘सत्ता समीकरणका विषयमा पार्टीको आधिकारिक धारणा र नेताहरुबीच एकरुपता कायम गर्न बैठक बसेको हो, आजको बैठकले एउटा विधि बनाउनेछ,’ ती नेताले भने।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१..