काठमाडौं। जनता समाजवादी पार्टी ( जसपा ) का वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरूको माग पूरा भएमा सत्ता सहकार्यको कुरा हुने बताएका छन्।बुधबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै वरिष्ठ नेता महतोले आफ्ना मागहरू पूरा नभए सरकारमा नजाने स्पस्ट पारे। ओली सरकारलाई आफूहरूले पहिले नै समर्थन गरेर हेरिसकेको स्मरण गर्दै महतोले आफूहरू ओलीलाई समर्थन गर्न मात्रै जन्मिएको हो भन्दै प्रश्न गरे।
आफूहरू सरकारलाई सित्तैमा समर्थन नगर्ने बताउँदै मागहरूको उचित सम्बोधन हुनुपर्नेमा जोड दिए। मागहरू पूरा गर्नेहरूप्रति आफूहरूको सहानुभूति हुने भनाइ छ।ओली सरकारले काम नगरेर कुरामा मात्र जोड दिएको आरोप लगाउँदै महतोले कुराकानी र वार्ताको लागि कार्यदल बनेको बताए।


आफूहरू पटक–पटक ठगिएको गुनासो गर्दै उहाँले माग सम्बोधनको कुराकानीका लागि वार्ता कार्यदल बनाएको स्पस्ट पारे। ओली नेतृत्वको सरकारमा जाने र नजाने सन्दर्भमा पार्टीमा दुई मत देखिएको सञ्चारकर्मीको प्रश्नमा उनले सञ्चारकर्मीले आफ्नो पार्टीमा दुई मत बनाइदिएको आरोप लगाए।
पछिल्लो समय माओवादी केन्द्र र एमालेसँगको सत्ता सहकार्यमा जसपा निर्णायक बनेको छ। जसपाका नेताहरूले रेशम चौधरी, मधेश र थरुहट आन्दोलनका क्रममा थुनामा राखेका आफ्नो सांसदहरू फिर्ता र संविधान संसोधनमो माग गर्दै आएको छ। ओली सरकारले आफूहरूलाई पहिले नै झुक्याइसकेकाले माग पूरा नभएसम्म सरकारमा नजाने जसपा नेताहरूको अडान छ।