प्रमाणीकरणका लागि पेश भएका दुई विधेयक प्रदेश प्रमुख झाले तुका तु फिर्ता पठाइदिए

जनकपुरधाम । प्रदेश २ का प्रदेश प्रमुख राजेश झा (अहिराज) ले प्रदेश सरकारबाट पेश भएका दुई अध्यादेश फिर्ता गरिदिएका छन् । प्रदेश सरकारले प्रमाणीकरणका लागि स्वास्थ्य सम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गरेको थियो । 

सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सम्बन्धी व्यवस्थापन गर्न बनाएको विधेयक पारित गराएर प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो । तर सो विधेयकमा मातृत्व सुरक्षा लगायतका विषय वस्तुहरु नसमेटिएको भन्दै आवश्यक सुझाव सहित परिमार्जन गरेर ल्याउन भन्दै प्रदेश प्रमुखले फिर्ता गरिदिएका हुन् । 

त्यसैगरी प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश प्रमुखको कार्यालयमा पठाइएको थियो । सो विधेयकमा किसान लगायतकाहरुलाई पदक दिने व्यवस्था नगरिएको भन्दै सुझाव सहित प्रदेश सभालाई विधेयक फिर्ता पठाइएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेशभित्र विशिष्ठ योगदान दिने व्यक्तिहरुलाई सम्मान गर्नका लागि प्रदेश सरकारले पदक प्रदान गर्ने सम्बन्धमा कानुनी व्यवस्था गर्नको लागि विधेयक निर्माण गरेको थियो । सरकारले यसै चालु आर्थिक वर्षमा पदक वितरणको लागि करिब १० लाख रुपैयाँ पनि विनियोजन गरिसकेको छ । विधेयकमा प्रदेश स्थापना पूर्व नै नाम घोषणा गरी स्थापनाको दिन फागुन ३ गते पदक दिने गरी विधेयक प्रदेशसभाबाट पारित गराएको थियो ।  

सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रमाणीकरणको लागि पठाइएको विधेयक प्रदेश प्रमुखले सुझाव सहित बढीमा दुई पटक मात्रै फिर्ता गर्न सक्ने प्रतिक्रिया दिए । उनले भने, ‘मैले फिर्ता गरिएको विधेयकको विषयमा जानकारी लिइसकेको छैन, के सुझाव दिएर पठाएको हो वा दुःख दिने कामले मात्रै फिर्ता पठाएको हो भन्ने कुरा हेरेर बताउँछु ।’

प्रदेश २ मा प्रदेशसभाबाट हालसम्म ३९ वटा विधेयक प्रमाणीकरण भएको छ । प्रमाणीकरणसँगै ऐन बनेपनि अधिकांश ऐन संघीय ऐनको अभावमा कार्यान्वयन हुन सकेको छैन । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..