ढिला गरे आयोगलाई ‘निकम्मा आयोग’ भने हुन्छ – पूर्वमन्त्री थापा

सर्लाही । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिताको बारेमा निर्णय दिन ढिला गरेर देशलाई अस्थिरतामा धकेल्ने प्रयास गरे निर्वाचन आयोग नेपाललाई ‘निकम्मा आयोग’ भन्दा पनि फरक नपर्ने तर्क गरेका छन् ।

थापाले निर्वाचन आयोगले नेकपाको आधिकारिताबारे निर्णय दिन ढिला गर्न नहुने बताएका हुन् । मंगलवार (आज) सर्लाहीको दक्षिण–पश्चिम भेगस्थित धनकौल बजारमा पार्टीद्वारा आयोजित आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै पूर्वमन्त्री थापाले पदको मोहले गर्दा नेकपाभित्र अहिले भाँडभैलो मच्चिएको तर्क गरे ।

नेता थापाले विगतमा आफूले सदनमा गलत कदमको विरोध गरेको स्मरण गर्दै दाहाल र नेपालले राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक काम कारवाहीलाई आँखा चिम्लिएर सहयोग गरेको बताए । उनले ‘बिगतमा दाहाल र नेपालले ओलीको गलत कदमलाई टेवल ठटाएर साथ दिएको स्मरण गर्दै, ‘अहिले उनीहरुलाई छात्ती ठटाउनुपर्ने अवस्था आएको तर्क गरे ।’

प्रधानमन्त्री आफैले ‘मेरो जीउ ज्यान असुरक्षित छ’ भन्दै हिँड्दा जनताले यो सरकारबाट सुरक्षाको के अपेक्षा गर्नु ? भन्दै प्रश्न गरेका नेता थापाले केपी शर्मा ओलीलाई ‘लुरे’ प्रधानमन्त्रीको संज्ञा दिए । उनले प्रधानमन्त्री ओलीले हिजो पोखरा पुगेर ‘ममाथि तलमाथि भए अच्चम्म मान्नु पर्दैन’ भन्ने अभिव्यक्ति दिनु लज्जास्पद रहेको तर्क गरे ।

नेता थापाले ओलीको बोलीको ठेगानै नरहेको आरोप समेत लगाए । प्रधानमन्त्री संसदीय जोडघटाउमा लागेर देशलाई अनिर्णयको बन्दी बनाउने खेलमा रहेको तर्क गरे । यो बेलामा काँग्रेस सरकारमा जान हतार गर्न नहुने भन्दै नेता थापाले संविधान रक्षाकै लागि उभिनु पर्नेमा जोड दिए ।

सभालाई पार्टीका केन्द्रीय सदस्य जंगिलाल राय, अर्का केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ, पार्टीका जिल्ला सभापति एवं संघीय सांसद नागेन्द्र राय, संविधान सभा सदस्य हरेश महतो, पूर्व पार्टी जिल्ला सभापति लक्ष्मण रायलगायतले सम्वोधन गरेका थिए ।

कांग्रेस सर्लाही ४ नम्बर क्षेत्रका क्षेत्रीय सभापति रामआश्रय साहको सभापतित्वमा सम्पन्न बिशाल आमसभा तथा वृहत् पार्टी प्रवेश कार्यक्रममा २ हजारको हाराहारीमा अन्य पार्टीका नेता कार्यकर्ताहरु काँग्रेसमा भित्रिएका कार्यक्रम सञ्चालक एवं प्रदेशसभा सदस्य वीरेन्द्र प्रसाद सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

काठमाडौं । इन्टरपोलद्वारा आयोजित INTERPOL 100 Global Video Contest for Young Police Leaders प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ । मंसिर १२ देखि अष्ट्रियाको भियनामा आयोजना..