काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी , नेकपा ( प्रचण्ड–नेपाल समूह ) ले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नयाँ अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी अघि बढाएको छ । प्रतिनिधिसभा विघटनपछि त्यसअघि दर्ता भएको अविश्वासको प्रस्तावको कानुनी वैधतामा प्रश्न उठ्ने सम्भावना देखिएपछि प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओलीविरुद्ध नयाँ अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी अघि बढाएको हो ।
नेकपा प्रचण्ड–नेपाल समूहले गत पुस ५ गते संसद सचिवालयमा दर्ता गराएको प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वासको प्रस्ताव भने अघि नबढाउने निष्कर्षमा पुगेको छ ।
५ पुषमा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन भएकै दिन ९० जना सांसदको हस्ताक्षरमा संसद सचिवालयमा प्रचण्ड–नेपाल समूहले अविश्वासको प्रस्ताव पेश गरिएको थियो । उक्त प्रस्तावमा भावी प्रधानमन्त्रीका रूपमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रस्ताव गरेको थियो ।
अहिले यहीँ अविश्वासको प्रस्तावलाई फिर्ता लिएर नयाँ समीकरणअनुसार प्रचण्ड–नेपाल समूह अघि बढ्ने भएको जनाइएको छ ।
पुस ५ मा दर्ता गरिएको अविश्वासको प्रस्तावमा भावी प्रधानमन्त्रीका रूपमा प्रचण्डलाई हेरिए पनि पछिल्लो राजनीतिक घटनाक्रमले प्रचण्डले अबको प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवातर्फ संकेत गरेका छन् ।
त्यसो त, सचिवालयमा दर्ता भएको उक्त अविश्वासको प्रस्ताव फिर्ता लिएर भावी प्रधानमन्त्रीका रूपमा देउवालाई अघि सार्ने प्रचण्ड–नेपाल समूहको रणनीति रहेको छ । साथै, यस विषयमा नेकपा प्रचण्ड–नेपाल समूह कांग्रेससँग छलफलमा निरन्तर रहेको छ ।
उता, सर्वाेच्च अदालतद्वारा फागुन ११ गते प्रतिनिधि सभा पुनःस्थापनाको फैसलासँगै फागुन २३ गते प्रतिनिधि सभाको अधिवेशन बोलाउन भनिएको छ । सर्वोच्च अदालतले तोकेकै समयमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा त्यहीँ मितिमा संसद् अधिवेशन बोलाएकी छन् ।