काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण र कारबाही गर्न आफू पछि नहट्ने बताएका छन्। टंगालस्थित आयोगको मुख्यालयमा शनिबार आयोजित एक कार्यक्रममा राईले भ्रष्टाचार गर्ने जोसुकैलाई तथ्य प्रमाणको आधारमा कारबाही गरेरै छाड्ने बताए।
उनले आफू आग्रह तथा पूर्वाग्रहको आधारमा नचल्ने समेत बताए। मुलुकमा भ्रष्टाचारको ग्राफ बढ्दो रहेकोप्रति चिन्ता व्यक्त गर्दै राईले आम नागरिकले अनुभव गर्न सक्ने गरी काम गर्नु आफ्नो चुनौती रहेको औँल्याए। आफ्नो कार्यकालमा संविधान, भ्रष्टाचार निवारण ऐन तथा अख्तियारको कार्यक्षेत्रभित्र रहेर पारदर्शी ढंगले भ्रष्टाचार नियन्त्रणको काममा लाग्नेसमेत प्रमुख आयुक्त राईले बताए।


उनले भने, ‘आम नागरिक मिडिया, सोसल मिडियालगायत सबैले बढ्दो भ्रष्टाचारको विषयमा चिन्ता व्यक्त गरिरहेका छन्, उहाँहरूको अपेक्षा अनुसार सबैले महसुस गर्ने गरी नियन्त्रण तथा कारबाहीको काम गर्न पछि हट्ने छैन।’ फरक प्रसंगमा राईले प्रतिसोध तथा पूर्वाग्रहका आधारमा निर्दोषलाई फसाउने काम हुँदै नहुने उनले बताए। राईले आफ्नो कार्यकालमा आयोग इतिहासमै प्रभावकारी काम गरेर बिदा हुने प्रतिबद्धता व्यक्त गरे।