राति पक्राउ परे नन्दलाल वली,बिहानै मृत्यु भयो

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरको थुनुवा कक्षमा रहेका रोल्पाका एक पुरूषको मृत्यु भएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका-६ मा कोठा लिएर बस्दै आएका ४३ वर्षीय नन्दलाल वलीको आइतबार बिहान मृत्यु भएको हो। ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक ( डिएसपी ) शिवबहादुर सिंहका अनुसार अत्यधिक मदिरा सेवन गरी होहल्ला गरिरहेको अवस्थामा वलीलाई शनिबार राति दश बजेतिर प्रहरीले तुलसीपुरको बाहिनी चोकस्थित कोठाबाट नियन्त्रणमा लिएको थियो।

रातिमा वलीकी श्रीमती उच्च अदालत तुलसीपुरको सुरक्षार्थ खटिएका प्रहरीमा पुगेर मदिराले मातेका श्रीमानले मार्न थालेको भन्दै सुरक्षाको लागि याचना गरेकी थिइन।‘आफू र बच्चाबच्चीलाई मदिराले मातेका श्रीमानले खुकुरी लिएर मार्न थाले भन्ने खबरपछि इप्रकाबाट प्रहरी पुगेर वलीलाई नियन्त्रणमा लिएको हो,’ डिएसपी सिंहले भने ‘हामीले उहाँलाई राति नै राप्ती प्रादेशिक अस्पतालमा लगेर स्वास्थ्य चेकअप गराएर थुनुवा कक्षमा राखेका हौं।’

वलीलाई थुनुवा कक्षमा राखेपछि पनि उनी रातभर मनपरी बोलेको, कराएको र अरूलाई पनि सुत्नै नदिने अवस्था सृजना गरेपछि प्रहरीले राति १ बजे पुनःउनकी श्रीमतीलाई फोन सम्पर्क गर्न प्रयास गरेको सिंहले बताए।

‘कसैलाई सुत्नै नदिएपछि प्रहरीले राति १ बजेतिर उहाँकी श्रीमतीलाई फोन गरी श्रीमान बुझेर कोठामा लैजान भन्न खोजका थियौं,’ सिंहले भने ‘तर, उहाँले मोबाइल अफ गरेकाले सम्पर्क हुन सकेन।’ वली कराउँदा कराउँदा राति २ बजेतिर मात्रै निदाएको प्रहरी नायव उपरीक्षक ( डिएसपी ) सिंहले जानकारी दिए ।

त्यसरी सुतेका वली आइतबार बिहान ६ बजेदेखि एक्कासी घारघार–घुरघुर गर्न थाले र उनी अचेत भए।त्यसपछि करिब साढे ६ देखि ७ बजेको बीचमा प्रहरीले झन्डै दुई सय मिटर नजिकैको राप्ती प्रादेशिक अस्पताल पुर्‍याएको डिएसपी सिंहले जानकारी दिनुभयो । त्यहाँ पुर्‍याउनासाथ चिकित्सकले वलीलाई मृत घोषणा गरेको सिंहले जानकारी दिए ।

‘उहाँकी श्रीमतीका अनुसार वलीले केही दिन पहिलेमात्रै मुखबाट रगत वान्ता गर्नु भएको थियो रे,’ सिंहले भने, ‘श्रीमतीले काठमाडौं उपचारका लागि लैजान्छु भन्दा पनि उहाँले मान्नु भएन रे। मलाई रक्सी खान देऊ ठिक हुन्छ भन्ने जिद्धी गरेर मदिरा सेवन गर्दै आएको भन्ने छ।’

मृतक वलीको शरिरमा चोट पटक वा घाउखत केही नदेखिएको भए पनि पोष्टमार्टम रिपोर्टपछि मात्रै तथ्य कुरा भन्न मिल्ने सिंहले बताए।

प्रहरीका अनुसार उनी तुलसीपुरमा कान्छी श्रीमतीसँग बस्दै आएका थिए। उनकी जेठी श्रीमती रोल्पामा बस्ने गरेको र मृत्युको खबर पाएपछि तुलसीपुर आउन लागेको प्रहरीले बताएको छ। नारायण खड्का

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..