गृहसचिव महेश्वर न्यौपानेको यसरी भयो थमौती

काठमाडौं । कामचलाउ ओली सरकारले विभिन्न मन्त्रालय र निकायका गरी दस सचिवको सरुवा गरेको छ । शुक्रबार गरिएको सरुवामा गृहमन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई चलाएको छैन ।

गृहमन्त्रालयका सचिव न्यौपानेको ठाउँमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एकनारायण अर्याल र सार्वजनिक खरिद अनुगमन कार्यालयका सूर्यप्रसाद गौतमलाई ल्याउने चर्चा चलेको भए पनि उनी थमौतीमा परेका छन् ।


सरकारले निर्वाचनका लागि डाङडुङ गर्न सक्ने सचिवको खोजी गरेकोमा अर्याल भन्दा पनि गौतमलाई त्यसका लागि उपयुक्त ठानेको थियो । तर सरकार निर्वाचन गर्ने पक्षमा नभएको न्यौपानेलाई नै यथावत राखेपछि प्रष्ट भएको छ, सरकारकै उच्च अधिकारीले सरकार चुनाव गराउने पक्षमा नभएकाले न्यौपाने नै गृहमा थमौती भएका छन् ।

ती प्रशासकले भने, प्रतिनिधिसभा पुनस्र्थापना हुने संकेत पाएर पनि सरकारले गृहमा भनेको खुरुखुरु मान्ने न्यौपानेलाई नै यथावत राखेको हुनसक्छ । वैशाख १७ र २७ मा निर्वाचनको मिति घोषणा गरिएको छ । तर निर्वाचन गर्ने पक्षमा सरकार पनि छैन, सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षमा परेको रिटको टुंगो नलाग्दा पनि चुनाव अन्यौलमा परेको छ ।

मन्त्रिपरिषदको निर्णय अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव सुरेश अधिकारीलाई निर्वाचन आयोगमा लगिएको छ । उनी निर्वाचनमा भन्दा पनि उद्योग मन्त्रालयमा सरुवा हुने आशामा थिए । सचिव अधिकारी र प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया दुवै संखुवासभाका हुन् । थपलिया जुन जुन मन्त्रालयमा सचिव भए, अधिकारीलाई त्यहीँ त्यहीँ सहसचिव बनाएर महत्वपूर्ण शाखाको प्रमुख बनाएका थिए ।


यस्तै श्रम तथा रोजगार मन्त्रालयका सचिव तोयम रायलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ । श्रम मन्त्रालयमा सार्वजनिक खरिद अनुगमन कार्यालयमा कार्यरत सूर्यप्रसाद गौतमलाई लगिएको छ । उद्योग सचिवमा प्रदेश नम्बर १ का प्रमुख सचिव दिनेश भट्टराईलाई लगिएको छ । वाणिज्य सचिवमा लोकसेवा आयोगका सचिव अर्जुनप्रसाद पोखरेललाई पठाइएको छ । बाणिज्य सचिव बैकुन्ठ अर्याललाई प्रधानमन्त्री कार्यालयमा पु्र्याइएको छ । लोकसेवा आयोगमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव तोयनारायण ज्ञवालीलाई पठाइएको छ ।


सरुवा भएका अन्य सचिवहरुमा युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा खटाइएको छ । उनी यसअघि पनि शिक्षा मन्त्रालयमा सरुवा भएका थिए । तर तत्कालीन मन्त्री गिरिराजमणि पोेखरेलले उनलाई लिनै नमानेपछि खेलकुदमै बस्न बाध्य हुँदैआएका थिए । यसैगरी राष्ट्रिय प्रकृतिक स्रोत तथा वित्त आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्याललाई भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ ।

उनले सचिव बढुवा भएको लामो समयसम्म मन्त्रालय पाएका थिएनन् । उनी सार्वजनिक खरिद अनुगमन कार्यालयबाट डेढ बर्षअघि वित्त आयोगमा सरुवा भई त्यहीँ कार्यरत थिए । उनी सचिवबाट निवृत्त हुन १० महिना मात्र बाँकी छ । १० महिनासम्म उनी भूमिब्यवस्था मन्त्रालयमा टिक्ने हुन् कि होइनन् त्यो भने उनले गर्ने निर्णयबाटै देखिनेछ ।


भूमिब्यवस्था मन्त्रालयमा गिरीबन्धु टी स्टेटदेखि धेरै भूमाफियाका जग्गा सट्टापट्टाका फाइल टुंगो लगाउनुपर्ने भएकाले पनि उनका लागि फलामको च्यूरा सरह छ । ती फाइल मन्त्रिपरिषद पठाउन समेत हिम्मत गर्न सक्ने अवस्था र आँट उनीसँग छैन । ती फाइलको बारेमा बालुवाटारले नै चासो दिएकाले उनले फाइल अगाडि नबढाए बिकल्पमा केदार न्यौपानेहरुको खोजी गरी बालुवाटारले फत्ते गर्नेछ ।


शिक्षा सचिव गोपीनाथ मैनाली पुनः खेदिएका छन् । निर्वाचन आयोगबाट खेदाइमा परेका मैनालीले शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको स्पीरीट अनुसार काम गर्न नमानेको र शिक्षक सेवा आयोगको अध्यक्ष सिफारिसमा असहयोग गरेपछि उनी खेदिएका छन् ।

उनी १ बर्षको बीचमा भूमिब्यवस्था मन्त्रालय, महालेखा नियन्त्रक, शिक्षा मन्त्रालय हुँदै सार्वजनिक खरिद अनुगमन कार्यालयमा पुगेका छन् । निर्वाचन आयोगकी देवकुमारी गुरागाई वित्त आयोगमा पुगेकी छन् । भूमिब्यवस्थाका टेकनारायण पाण्डे युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..