बलत्कारी अपराधीहरू कहाँ छन् सरकार

काठमाडौं । बैतडीको दोगडाकेदार नगरपालिका–७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पाइएको प्रहरीले जनाएको छ ।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ( डीआईजी ) उत्तमराज सुवेदीले पोष्टमार्टम रिपोर्टले भट्टको घाँटी थिचेरले हत्या भएको पाइएको बताएका हुन् । प्रहरीलाई दिइएको रिपोर्टको कज अफ डेथ खण्डमा ‘डेथ ड्यु टु स्ट्याङ्गुलेसन’ भनिएको छ ।

रिपोर्ट अनुसार भट्टको यौनाङ्गमा पनि गहिरो चोट लागेको छ भने टाउको र हातमा पनि चोट देखिएको छ ।शरीरको विभिन्न भागमा स–साना दागहरु पनि देखिएका छन् । त्यसले उनलाई घिसारिएको हुनसक्ने संकेत गरेको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । सनातन धर्म माध्यमिक विद्यालयको कक्षा १२ मा पढ्ने भट्ट बुधबार साँझसम्म घर नफर्किएपछि आफन्तले प्रहरी र छिमेकी गुहारेका थिए । भट्ट विद्यालयबाट घर फर्किने बाटोमा बिहीबार बिहान मुख्य सडकबाट ५० मिटर टाढा शव भेटिएको थियो । यो बैतडी सदरमुकामबाट डेढ घन्टाको दुरीमा पर्ने ठाउँ हो ।

भट्टको हत्या भएको विषयमा प्रहरी अनुसन्धान उनको मोबाइलमा केन्द्रित भएको छ ।शव भेटिएको स्थानबाट २० मिटर अगाडि मोबाइल भेटिएसँगै त्यसको प्राविधिक विश्लेषणमा प्रहरी जुटेको छ । मोबाइलबाट महत्वपूर्ण सुराक हात पर्ने प्रहरीले अपेक्षा गरेको छ । मोबाइलको प्राविधिक विश्लेषणको काम केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट गएको टोलीले गरिरहेको छ । ब्युरोले नै कल डिटेल रेकर्ड (सीडीआर), बीटीएस लगायतका प्राविधिक पक्षको विश्लेषण गरेको छ ।

रगताम्ये यौनांग र शरीरको विभिन्न ठाउँमा चोटपटक भएको अवस्थामा बिहीबार भट्टको शव सडक नजिकैको जंगलमा भेटिएको थियो । लगत्तै प्रहरी प्रधान कार्यालय, नक्सालले सीआईबीलाई टोली खटाउन निर्देशन दिएको थियो । त्यसपछि निर्मला हत्या प्रकरणको अनुसन्धानका लागि कञ्चनपुरमा खटिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) पञ्चकुमार बाखु नेतृत्वको टोलीलाई बैतडी पठाइएको हो ।अनुसन्धानमा खटिएका अधिकृतहरुका अनुसार मोबाइलबाट केही विषयहरु डिलिट भएको हुनसक्ने भएकाले प्रहरी प्रधान कार्यालयमा रहेको डिजिटल फरेन्सिक ल्याबमा पठाएको छ ।मोबाइलबाट गरिएको अनुसन्धानकै आधारमा प्रहरीले घटनामा चिनजानकै व्यक्ति संलग्न हुनसक्ने आशंका गरेको छ ।


आम नेपालीले मुलुकमा महिलामाथिको हिंसाको घटना बढ्दा र कुनै छोरी चेली बलात्कारको हुँदा पहिला लिने नाम निर्मला पन्त हो । दुई बर्ष वित्यो कञ्चनपुरकी यि किशोरीको परिवारले न न्याय पाउन सक्यो नत निर्मलाको आत्माले पनि शान्ति पाउन सक्यो । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ की १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणको २ वर्ष बितिसक्दा पनि अझै टुगों लाग्न सकेको छैन । अब निर्मला छोरीको हत्यारा पत्ता लाग्छ भन्ने आश नरहेको र आफुले एउटा छोरी गुमाउनुको पीर हुँदाहुँदै बैतडीमा एउटी अर्की आमाले पनि निर्मला जस्तै छोरी गुमाएको देख्दा आफ्नै छोरीको सम्झना आएको निर्मलाकी आमाले बताइन ।

त्यसमाथि बैतडीकी भागरथी भट्टमाथि पनि उही नियति दोहोरिने हो कि भन्ने शंका उब्जेको छ निर्मला प्रकरणको टुगों नलाग्दै बैतडीमा गत बुधबार विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता भएकी १७ बर्षीया भागरथी भट्ट बिहीबार साँझ सामुदायिक वनमा मृत अवस्थाका फेला परिन ।हत्या गरेर फालेको अवस्थामा फेला परेकी बैतडीकी भागरथीको अपराधि ५ दिन बितिसक्दा समेत पत्ता लाग्न सकेको छैन । निर्मला प्रकरणको २ वर्ष बितिसक्दा समेत हत्यारा पत्ता नलागे पछि निर्मलाकी आमा दुर्गा देवीपन्त भागरथी हत्याकाण्ड पनि निर्मला प्रकरण जस्तै नहोस भन्छिन् ।

यता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले निर्मला प्रकरण कञ्चनपुर प्रहरीकोे प्राथमिकतामा परेको घटना रहेको र तथ्य प्रमाण जुटाउनमा प्रहरी गम्भीर रुपमा अनुसन्धान गरी राखेको बताए ।उनले केहि शंकास्पद व्यक्तिहरु आफ्नो निगरानी रहेको र उनीहरु घटनास्थलमा भएको पृष्टि हुने आधारहरु खोजी भइरहेको जानकारी पनि दिए । प्रहरीले भागरथीको बलात्कारपछि हत्या अनुसन्धानमा कुनै कसर बाँकी नराख्ने दाबी गर्दै आएको छ । अनुसन्धानको ढोका साँघुरिएको प्रहरीले बताएको छ । तर, निर्मला पन्तको जस्तै अपराधिले दण्ड नपाउने होकि भन्ने सन्देह छ । परिवार मात्र होइन, सिंगो मुलुकलाई प्रहरीसँग त्यतिधेरै विश्वास छैन ।

निर्मलाले न्याय पाएको भए सायद, भागरथीले त्यस्तो नियति भोग्नुपर्ने थिएन कि ? हाम्रो समाज कता जाँदै छ ? आपराधिक मनोवृत्तिलाई कतै समाजले नै बढावा त दिंदैछैन ? प्रहरी÷प्रशासन–सरकार गैरजिम्मेवार त बन्दैछैन ? प्रश्न हरेक नागरिकको मानसपटलमा उब्जिने गरेको छ । यहाँ पहुँचका भरमा अपराधि उम्काइन्छ । डेढ महिना अघि पति गुमाएकी भगरथीकी आमालाई पुत्रीवियोगको बज्रपात थोपरिदा अर्को सहारा पनि छैन । सबुद–प्रमाणहरु राष्ट्रिय विधि–विज्ञान प्रयोशालामा पठाइएको प्रहरीले बताएको छ । प्रहरी भन्छ–केही दिनमा त्यसका परिणामहरु आउनेछन् । प्रहरीले उता, घटनास्थलमा भागरथी निकटका साथीरआफन्तहरुसँग सोधपुछ बढाएको छ । भागरथी हत्या प्रकरणमा अपराधि उम्किने हो कि ? स्थानीय र परिवारलाई चिन्ताले सताएको छ ।


प्रहरी प्रधान कार्यालयले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको अनुसन्धान महिनौंसम्म अलपत्र पारेको छ । २०७५ साउन ११ मा कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १८ निम्बुखेडास्थित उखुबारीमा निर्मला पन्तको शव बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको थियो ।घटनाको २६ औं दिनमा घटनास्थलमा भेटिएको सर्टको टुक्राको फाइबर जाँच गर्न जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले २०७५ कात्तिक १५ मा प्रहरी प्रधान कार्यालय पठाए पनि जाँच हुन सकेन ।जसले घटनाको अनुसन्धानमा फेला परेको भनिएको महत्त्वपूर्ण ‘क्लु’ को वैधानिकता पुष्टि हुन सकेन । जिल्ला प्रहरी कार्यालयले मुख्य अभियुक्तका रुपमा दिलिपसिंह विष्टलाई पक्राउ ग¥यो ।तर, निर्मलाको शवबाट झिकिएको भेजाइनल स्वाबमा भेटिएको वीर्यबाट निकालिएको डीएनए प्रोफाइलिङका क्रममा पक्राउ परेका दिलीपसिंहको डीएनएसँग मेल नखाएपछि सरकारी वकिलको कार्यालयले २०७५ भदौ २६ गते हाजिरी जमानीमा उनलाई छोडिदियो ।

अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरु निलम्बनमा समेत परे । पछि उनीहरुको निलम्बन फुकुवा भयो । तर निर्मलाको हत्यारा अझै पत्ता लाग्न सकेन । भागिरथीको हत्याको पनि सही छानबिन हुँदैन कि भन्ने आशंका छ ।
राष्ट्रिय मानव अधिकार आयोगले भागरथी भट्टको हत्यामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याई कारबाही गर्न सरकारसँग माग गरेको छ ।


आयोगले आइतबार विज्ञप्ति जारी गर्दै उक्त घटनाको तत्काल निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न, अनुसन्धानको क्रममा साक्षीको सुरक्षा र प्रमाण सङ्कलनमा विशेष सावधानी अपनाउन, घटनामा संलग्न दोषीको शीघ्र पहिचान गरी कानुनी दायरामा ल्याउन र पीडित परिवारलाई अन्तरिम राहत उपलब्ध गराउन समेत सरकारसँग आग्रह गरेको छ ।
आयोगको प्रदेश कार्यालय धनगढीबाट अनुगमन टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

४ सय ८९ किलो लागुऔषधसहित १ जना पक्राउ

४ सय ८९ किलो लागुऔषधसहित १ जना पक्राउ

पर्सा । पर्सा प्रहरीले ४८९ किलो लागुऔषधसहित पक्राउ परेका एक युवकलाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले कार्यालय परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी..