भ्रष्टाचारीलाई उचित दण्ड दिन सकेमात्र सुशासन कायम हुन्छ : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको स्वतन्त्र संवैधानिक अंगको रूपमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गराउन सफल हुने विश्वास व्यक्त गरेकी छिन् ।

अख्तियार आयोगको ३० औं वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन तथा आर्थिक समृद्धिमार्फत राज्यको प्रतिष्ठा र पहिचानलाई अन्तर्राष्ट्रिय क्षेत्रसम्म पुर्‍याउन राजनीतिक दल, कर्मचारी, प्रशासन र आम नागरिकको भूमिका महत्वपूर्ण हुने बताइन् ।

‘जनताप्रति उत्तरदायी शासकीय अभ्यासले मुलुकको विकासलाई टेवा पुर्‍याउने हुँदा सम्बद्ध सबैले आफ्नो दायित्वप्रति इमान्दार र प्रतिबद्ध हुनुपर्दछ । भ्रष्टाचार नियन्त्रणका लागि सबैको साझा प्रतिबद्धता र सत्प्रयासले नै मुलुकलाई सुशासन र समृद्धिको दिशामा अगाडि बढाउनेमा म विश्वस्त छु’, राष्ट्रपति भण्डारीले भनिन् ।

भ्रष्टाचारको प्रभावकारी नियन्त्रण हुन नसके राज्यका स्रोतहरु दुरुपयोग भई राज्यप्रणाली नै असफल हुनेतर्फ सचेत गराउँदै भण्डारीले भ्रष्टाचारप्रति शून्य सहनशीलता कायम गर्न सम्बद्ध सबै क्षेत्र अग्रसर हुनुपर्ने बताइन् । ‘अख्तियारको दुरुपयोग गरी भ्रष्टाचार गर्ने र गराउनेलाई समयमै पहिचान गरी उचित दण्ड दिन सकेमात्रै सुशासन कायम हुनसक्नेछ’, भण्डारको भनाइ थियो ।

भण्डारीले अख्तियारको प्रतिवेदनमा औंल्याइएका विषयहरू कार्यान्वयनमा सरकार क्रियाशील हुने विश्वास समेत व्यक्त गरिन् ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले आयोगमा उत्कृष्ट काम गर्ने कर्मचारीहरुलाई पुरस्कृत गर्नुभएको थियो ।

त्यसैगरी आयोगले गरेको विद्यालय स्तरीय राष्ट्रब्यापी निबन्ध प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरुलाई प्रधानमन्त्री ओलीले नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

काठमाडौं । इन्टरपोलद्वारा आयोजित INTERPOL 100 Global Video Contest for Young Police Leaders प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ । मंसिर १२ देखि अष्ट्रियाको भियनामा आयोजना..