संघीयताको खिल्ली उडाउँदै केन्द्रीकृत शासन : मेयर दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले संघीयताको खिल्ली उडाउँदै केन्द्रीकृत शासन लादेर सनिवार सिटी हल र ६ लेन पूलचोक गोन्द्राङ सडक महानगरलाइ थाहै नदिई शिलान्यास गरिनु दुःखद भएको बताएकी छिन् । चितवनमा शनिबार आयोजित कुँवर समाज नेपाल चितवन शाखाद्वारा निर्मित राष्ट्रिय विभूति बलभद्र कुँवरको पूर्ण कदको सालिक अनावरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

भरतपुर महानगरपालिका दिगो र आत्मनिर्भर विकासको गतिका साथ अगाडि बढिरहेको बताउँदै उनले संघीयताको खिल्ली उडाउँदै केन्द्रीकृत शासन लादेर आज भरतपुर महानगरपालिकाको गौरवका आयोजना सिटी हल र ६ लेन पूलचोक गोन्द्राङ सडक महानगरलाइ थाहै नदिई शिलान्यास गरिनु दुःखद भएको विचार व्यक्त गरिन् ।

उनले यस कार्यमा भरतपुर महानगरपालिकाको गम्भीर आपत्ति रहेको बताइन् । एक दिन सुटुक्क आएर ढुंगा पूजा गर्दैमा सिटी हल र ६ लेन सडक निर्माण नहुने बताउँदै उनले भनिन्, ‘भरतपुर महानगरको परिकल्पना र स्वामित्वमा तीन वर्ष लामो गृहकार्यपछि सिटी हल निर्माणको कामले गति लिएको हो ।’

मेयर दाहालले हाल मुलुकको समृद्धि र विकासका साथै पूर्खाहरुले बलिदानीपूर्ण संघर्षबाट आर्जन गरेको व्यवस्थामाथि धावा बोलिएको बताउँदै समाज र व्यवस्थामाथि अपमान गर्ने त्यस्ता सन्की शासकले क्षमा पाउनै नसक्ने बताइन् ।

राजनीतिक दाउपेचका आधारमा विकास निर्माणलाई लिनु गलत भएको भन्दै मेयर दाहालले विकास त लामो प्रयास र निरन्तरताले मात्र सम्भव हुने बताइन् ।

आयोजक संस्थाका अध्यक्ष चक्रबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले वीर बलभद्र कुँवरलगायतका विभूतिहरूको ऐतिहासिक योगदानले आधुनिक नेपाल सम्भव भएको बताइन् । उनले विभूतिहरुले दिएको योगदानको संरक्षण र सम्मान गर्नु नागरिक र राज्यको दायित्व भएको बताइन् ।

महानगर प्रमुख दाहालले कुँवरले तत्कालिन इष्ट इन्डिया कम्पनीको अंग्रेज सेनासँग ऐतिहासिक र साहसिक लडाइँ लडेको इतिहास स्वर्ण अक्षरले लेखिएको बताउँदै पानीकै भरमा खुकुरीको बलमा लडाइँ लडिएको बताइन् । ‘उहॉहरूजस्ता वीरहरुको बहादुरीबाट आधुनिक नेपाल सम्भव भएको हो’ मेयर दाहालले भनिन् । उनले बलभद्र कुँवरको २ सय ३१ औँ जन्मदिनको अवसरमा सालिक अनावरण गर्न पाउँदा आफूलाई गर्वको अनुभूति भएको बताउँदै श्रद्धाञ्जली व्यक्त गरिन् । बहादुर नेपालीहरुले हारको इतिहास नलेखेको उनको भनाइ थियो ।

सालिक अनावरण कार्यक्रममा बलभद्र कुँवर प्रतिष्ठानका अध्यक्ष प्राडा धनबहादुर कुँवरले वीर बलभद्रको २ सय ३१ औँ जन्मजयन्तीको अवसर पारेर चितवन जिल्लाको रमणीय स्थान जलदेवी सामुदायिक वन परिसरमा पूर्ण कदको सालिक अनावरण गर्न पाउँदा खुसी लागेको बताउँदै वीरहरुको योगदानको कदर गर्नु हामी सबैको दायित्व भएको बताए । प्राडा कुँवरले वीर बलभद्र कुँवर जस्ता विभूतिहरुको बलिदानीपूर्ण योगदानले देशको सार्वभौमिकताको रक्षा र जगेर्ना सम्भव भएको बताए ।

कार्यक्रममा कुँवर समाज नेपालका सल्लाहकार नारायण सिंह कुँवरले कुँवर समाजको छुट्टै पहिचान र भूमिका रहेको बताउँदै वर्तमान नेपालको पहिचान कायम राख्न वीरतापूर्ण लडाइँ राष्ट्रिय विभूति बलभद्र कुँवरले अंग्रेजसंगको लडाइँमा सीमित घरेलु हतियार र फौजसंगको लडाइँमा ऐतिहासिक बहादुरी प्रस्तुत गरेको बताए । उनले वीर बलभद्रको योगदानको कदर गर्नु राष्ट्रको कर्तब्य भएको भन्दै कुँवर समाजले बलभद्र कुँवरको पूर्णकदको सालिक अनावरण गरेर सम्मान व्यक्त गरिएको बताए । उनले भरतपुरको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विकासप्रेमी मेयर रेनु दाहालबाट ऐतिहासिक व्यक्तित्व बलभद्र कुँवरको सालिक अनावरण गर्न पाउँदा खुसी लागेको बताए ।

समाजका महासचिव गोपाल कुँवरले राष्ट्रिय विभूति वीर बलभद्र कुँवरले राष्ट्रियता र मूलुकको स्वाधिनताको लागि वीरतापूर्ण लडाइँ लडेको भन्दै वीर बलभद्रले देशलाई दिएको योगदानको सम्मान गर्नुपर्ने बताए । अंग्रेजसंगको कालापानी र नालापानीको लडाइँमा वीरतापूर्ण ढंगले अंग्रेज फौजलाई परास्त गराएको इतिहास स्वर्णीम अक्षरले लेखिएको बताउँदै कुँवरले बलभद्रकै योगदानले देशको स्वभीमान कायम रहेको बताए ।

कार्यक्रममा समाजलाई उल्लेख्य सहयोग पुर्याउने व्यक्तिहरु र पूर्ण कदको सालिक निर्माणको लागि सहयोग पुर्याएका चन्दादाताहरुलाई सम्मान गरिएको थियो । भरतपुरको आँपटारीमा रहेको जलदेवी सामुदायिक वन परिसरमा २० लाख रुपैयाँको लागतमा आकर्षक पूर्णकदको सालिक निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..