काठमाडौं । आज कार्तिक १८ गते दिउँसो १ बजे आकस्मिक रूपमा बसेकाे मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीका आईजीपी दान बहादुर कार्कीलाई प्रधानमन्त्रीकाे सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरि रिक्त रहेकाे आईजीपी पदमा नेपाल प्रहरीका एआईजी डा. मनाेज कुमार केसीलाई बढुवा गर्ने निर्णय गरेकाे छ।
डा. केसी नेपाल प्रहरीको ३४ औं आईजीपीमा नियुक्त भएका छन । आजैबाट उनले जिम्मेवारी सम्हाल्ने छन। केसी नुवाकाेटका स्थायी बासिन्दा हुन। रास्वपाका सभापति रवी लामिछाने उपप्रधानमन्त्री तथा गृह मन्त्री हुँदा लामिछाने निकट रहेर काम गरेका थिए। अहिले उनकै निर्देशनमा सरकारले आईजीपी नियुक्त गरेकाे हाे।
निर्वाचन प्रहरीका लागि आवश्यक वन्दोबस्तीका सामान खरिद, इनम सापकोटा तथा पत्रकार पक्राउ प्रकरणलाई लिएर आईजीपी कार्कीमाथि आलोचना बढेको थियो। सरकारले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेको छ ।
आईजीपी केसी निडर नेतृत्व, उच्च व्यावसायिकता र अपराध अनुसन्धानमा अतुलनीय दक्षताका भएका अधिकारी हुन् । उनले व्यावसायिक करियरमा अनेकौं जटिल, संवेदनशील र हाईप्रोफाइल अपराधहरूको सफल अनुसन्धान गरी नेपालको शान्ति–सुरक्षा,अपराध राेकथाम र नियन्त्रण तथा न्याय प्रणालीलाई मजबुत बनाउन निर्णायक भूमिका निर्वाह गरेका छन्। विद्यावारिधिसम्मको उच्च शिक्षा हासिल गरेका उनले प्रहरी सेवामा आधुनिक प्रविधि, वैज्ञानिक अनुसन्धान पद्धति र रणनीतिक सोचलाई अझ प्रभावकारी रूपमा आत्मसात् गरेका छन्। ।
२०५४ चैत्र २८ गते प्रहरी निरीक्षक पदबाट व्यावसायिक यात्रा आरम्भ गरेका डा. केसी २०८२ वैशाख ११ गते प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका थिए। उनले काठमाडौं उपत्यका अपराध महाशाखा प्रमुखको रुपमा रहेर चर्चित भुटानी शरणार्थी सम्बन्धी ठगी तथा संगठित अपराधको सफलतापूर्वक अनुसन्धान साथै मोरङ र रूपन्देही जिल्लाको प्रहरी प्रमुखको रुपमा सफल नेतृत्व गरेका थिए।
केन्द्रीय अनुसन्धान ब्यूरोको नेतृत्व सम्हाल्दै उनले नक्कली हवाई उद्धार(फेक रेस्क्यु) ठगी, स्मार्ट टेलिकममा भएको ठगी, प्रभु ग्रुप अन्तर्गतको बैंक लगायत संस्थाहरुको संगठित ठगी, धितोपत्र तथा बिमा ठगी, क्रिप्टोकरेन्सी अपराध, र सरकारी जग्गा अतिक्रमण तथा हिनामिना जस्ता जटिल मुद्दाहरूको निष्पक्ष, वस्तुनिष्ठ र सफलतापुर्वक अनुसन्धान गरेका थिए ।
यसैगरि उनले विशेष गरी चर्चित ‘नक्कली भुटानी शरणार्थी प्रकरण’को निष्पक्ष र ऐतिहासिक अनुसन्धानको नेतृत्व गरेका थिए। उनले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा उच्च प्रशंसा कमाएका छन् । केसी नेपाल प्रहरी कर्मचारी कलेज, महाराजगञ्जका संस्थापक निर्देशक हुन्। केसीले ‘प्रहरी विज्ञानमा स्नातकोत्तर’ पाठ्यक्रमको निर्माण गरेका थिए।
उनले कोसोभो र हैटीमा शान्ति स्थापनार्थ सुरक्षा अधिकृतका रूपमा खटिएर द्वन्द्वोत्तर क्षेत्रमा स्थानीय प्रहरीको क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण योगदान गरेका छन् । केसीलाई नेपाल सरकारले ‘सुप्रबल जनसेवा श्री’ र ‘प्रबल गोरखा दक्षिण बाहु’ जस्ता सर्वोत्कृष्ठ राष्ट्र सेवक सम्मानका साथै ‘उत्कृष्ट अनुसन्धानकर्ता’ र ‘उत्कृष्ट जिल्ला प्रहरी प्रमुख’ का रूपमा विभूषित गरेको छ ।


