काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले आफू र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा पूर्वएआईजी विश्वराज पोखरेलको नाम जोडेर घुस प्रकरणसम्बन्धी समाचार प्रकाशित भएपछि त्यसको खण्डन गरेका छन्।
उनले आफूलाई जोडेर प्रकाशित समाचारप्रति आश्चर्य र स्तब्धता व्यक्त गर्दै घटनासँग आफ्नो कुनै सम्बन्ध नरहेको दाबी गरेका छन्।विभिन्न अनलाइन सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आफू र पोखरेलको नाम जोडेर घुस लिएको भन्ने विवरण सार्वजनिक भएपछि प्रधानन्यायाधीश शर्माले प्रतिक्रिया जनाएका हुन्।
उनले आफूलाई जोडेर प्रकाशित समाचारमा उल्लेख गरिएका व्यक्ति तथा प्रसंगसँग कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन्।‘उक्त शीर्षकमा प्रकाशित समाचारप्रति म आश्चर्यचकित र स्तब्ध भएको छु। जुन प्रसंग जोडी मेरो नाम उल्लेख गरिएको छ, ती व्यक्ति एवं प्रसंगमा मेरो कुनै संलग्नता छैन।
ती व्यक्तिहरूसँग मेरो प्रत्यक्ष एवं परोक्ष रूपमा चिनजान, सम्पर्कसमेत छैन,’ शर्माले भनेका छन्।प्रधानन्यायाधीश शर्माले समाचारमा उल्लेख गरिएका घटना भएको भनिएको समयमा आफू प्रधानन्यायाधीश नै नभइसकेको दाबी गरेका छन्। नोभेम्बर, डिसेम्बर र जनवरी महिनाको प्रसंग उल्लेख गर्दै उनले आफूलाई जोडेर प्रकाशित विवरण आधारहीन भएको बताएका छन्।
‘यसरी आधारहीन, झुटा, कपोकल्पित र जनतामा भ्रम छर्ने दूषित उद्देश्यबाट प्रसारित समाचारको म भर्त्सना गर्दछु,’ उनले भनेका छन्।यसैबीच, रास्वपा सांसद विश्वराज पोखरेलले पनि उक्त समाचारमा आएका विवरणको खण्डन गरेका छन्। उनले समाचारमा उल्लेख गरिएका विषय झुटा रहेको र त्यसमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन्।


