काठमाडौं । अमेरिकाले नेपाली सेनालाई १५ करोड अमेरिकी डलरभन्दा बढी अर्थात् करिब २२ अर्ब ८० करोड रुपैयाँ बराबरका हेलिकोप्टर, ड्रोन र डुंगा अनुदानमा उपलब्ध गराउने भएको छ।विपद् व्यवस्थापन तथा खोज र उद्धार क्षमता सुदृढ गर्ने उद्देश्यले अमेरिकाले नेपाललाई यी सामग्री उपलब्ध गराउन लागेको हो।नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले बिहीबार प्रधानसेनापति अशोकराज सिग्देलसँगको भेटमा यसबारे जानकारी गराएकी हुन्।
काठमाडौंस्थित अमेरिकी दूतावासले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार अमेरिकाले नेपाललाई अमेरिकामै निर्मित हेलिकोप्टर, उच्च क्षमताका ड्रोन र नदीमा सञ्चालन गर्न मिल्ने डुंगा उपलब्ध गराउनेछ।अमेरिकाले नेपाललाई आठवटा बेल हेलिकोप्टर उपलब्ध गराउने तयारी गरेको छ। तीमध्ये दुईवटा हेलिकोप्टर सन् २०२७ मा नेपाल आइपुग्नेछन् भने बाँकी छवटा सन् २०२९ सम्ममा उपलब्ध गराउने योजना छ।
हेलिकोप्टरसँगै उच्च क्षमताका ड्रोन र नदीमा सञ्चालन गर्न मिल्ने डुंगाहरू पनि आगामी वर्षदेखि नेपाललाई प्राप्त हुन थाल्ने अमेरिकी दूतावासले जनाएको छ।
यसअघि गत शरद ऋतुमा अमेरिकाले तीन करोड ८० लाख अमेरिकी डलर बराबरका एम२८ स्काईट्रक विमान नेपाललाई सहयोगस्वरूप उपलब्ध गराएको थियो। ती विमानले विपद्का बेला राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउँदै आएका छन् ।प्रधानसेनापति सिग्देलसँगको भेटमा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि नेपालको पुनर्स्थापनामा अमेरिकाले गरिरहेको सहयोगबारे पनि छलफल भएको थियो।


