काठमाडौँ । नेपाल प्रहरीले आईजीपी दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको भन्ने आशयका समाचार तथा टिप्पणीहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पुष्टि नभएका विषयलाई अनुमानका आधारमा समाचार तथा टिप्पणीका रूपमा प्रस्तुत गर्दा आम नागरिकमा भ्रम तथा नकारात्मकता सृजना हुने, सुरक्षा जोखिमका साथै नागरिकको सेवामा सदैव समर्पित संस्थाप्रतिको विश्वास, सांगठनिक छबि र निष्ठामा असर पर्न सक्ने भएकाले यस्ता अपुष्ट, भ्रामक, तथ्यहीन एवम् स्वार्थकेन्द्रित सूचनाको पछि नलाग्न प्रहरीले आग्रह गरेको छ ।
बिहीबार नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्ले द्वारा विज्ञप्तीमा भनिएको छ, ‘सत्य, तथ्यपरक तथा विश्वसनीय सूचना प्राप्त गर्नु नागरिकको मौलिक अधिकार हो। उक्त अधिकारको सम्मान गर्दै समाचार तथा सूचना प्रकाशन वा प्रसारण गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गर्न, सूचनाको सत्यता सुनिश्चित गर्न तथा पत्रकारिताको व्यावसायिक आचारसंहिता एवम् नागरिक प्रति राज्यको चौथो अंगको जिम्मेवारी निर्वाह गर्न नेपाल प्रहरी सबै सञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमा हार्दिक अनुरोध गर्दछ।’
सरकारको नीति निर्देशन अनुसार नागरिक प्रतिको विधिसम्मत जिम्मेवारी एवम् उत्तरदायित्व निर्वाह गर्न नेपाल प्रहरी सदैव समर्पित रहेको बताइएको छ । ‘नेपाल प्रहरी कुनै पनि प्रकारका भ्रामक प्रचार, अनावश्यक दबाब वा गैरकानुनी गतिविधिबाट विचलित नभई आफ्नो संवैधानिक तथा कानुनी जिम्मेवारी निर्वाह गर्न कटिबद्ध रहेको साथै यस्ता भ्रामक समाचार तथा स्वार्थ केन्द्रित टिप्पणीबाट विचलित नभई उच्च मनोबलका साथ एकतावद्ध हुदै काम गर्न नेपाल प्रहरीका सकल दर्जाका कर्मचारीहरुमा निर्देशन गर्दै आम नागरिकलाई प्रमाणित, आधिकारिक एवम् तथ्यमा आधारित समाचारमा विश्वास गर्न, अपुष्ट सामग्रीको अनावश्यक प्रसार नगर्न तथा जिम्मेवार सूचना सम्प्रेषणमा सहयोग पुऱ्याउन नेपाल प्रहरी सबैमा हार्दिक अनुरोध गर्दछ।’ विज्ञप्तीमा भनिएको छ ।
प्रहरीलाई कमजोर बनाउने वा सुरक्षा संगठनलाई विवादमा तानेर सरकार विरुद्ध खेल्न सकिन्छ भन्ने सोच बनाएका केही सीमित व्यक्तिहरूको चालबाजीलाई नेपाल प्रहरीले प्रचलित कानून बमोजिम आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने समेत विज्ञप्तीमा उल्लेख छ ।
‘प्रचलित कानुन बमोजिमको जिम्मेवारी पुरा गर्दै संगठनको प्रतिष्ठा, व्यावसायिकता तथा कार्यसम्पादनमाथि भ्रम सिर्जना गर्ने उद्देश्यले नियोजित रूपमा भ्रामक सूचना सम्प्रेषण गरी नेपाल प्रहरीलाई कमजोर बनाउने वा सुरक्षा संगठनलाई विवादमा तानेर सरकार विरुद्ध खेल्न सकिन्छ भन्ने सोच बनाएका केही सीमित व्यक्तिहरूको चालबाजीलाई नेपाल प्रहरीले प्रचलित कानून बमोजिम आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ।’ विज्ञप्तीमा भनिएको छ ।




