काठमाडौं । बाइनान्समार्फत २ अर्ब १६ करोड रुपैयाँभन्दा बढीको क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका–१२ स्थायी घर भएका २८ वर्षीय सुनिल कुमार यादव रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले यादवलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार उनले आफ्नो बाइनान्स खातामार्फत २ करोड ६९ लाख ९१ हजार ३८८ दशमलव ५० यूएसडीटी बराबरको कारोबार गरेका थिए। यसको नेपाली रुपैयाँमा मूल्य २ अर्ब १६ करोड १ लाख २० हजार ८२१ हुन्छ।
नेपाल राष्ट्र बैंकको नीति तथा प्रचलित कानुनविपरीत क्रिप्टोकरेन्सीको कारोबार, अनलाइन बेटिङ र सट्टेबाजी भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो। विभिन्न विद्युतीय माध्यम र बेटिङ एप प्रयोग गरी सट्टेबाजी खेल्ने तथा खेलाउने गतिविधिमाथि निगरानी गर्ने क्रममा यादवको संलग्नता खुलेको प्रहरीले जनाएको छ।
प्राविधिक विश्लेषण र सूक्ष्म निगरानीपछि जिल्ला प्रहरी कार्यालय धनुषासँग समन्वय गरी उनलाई पक्राउ गरिएको हो।
यादवविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ अन्तर्गत जुवा तथा सट्टेबाजी र दफा २६२(क) को उपदफा १ अन्तर्गत अभौतिक मुद्राको प्रयोगसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।
प्रहरीले काठमाडौं जिल्ला अदालत, बबरमहलबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ। पछिल्लो घटनाले नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबार र अनलाइन सट्टेबाजीको सञ्जाल विद्युतीय माध्यमबाट विस्तार भइरहेको विषयलाई पुनः चर्चामा ल्याएको छ।


