लागुऔषध कारोबारी नियन्त्रणमा लिन प्रहरीले चलायो आठ राउन्ड गोली, दुई भारतीय घाइते

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीले आठ राउन्ड गोली चलाएको छ। नेपाल–भारत सीमावर्ती क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर दुई भारतीय नागरिक घाइते भएका छन्। प्रहरीले पेस्तोल, गोली र करिब आधा किलो खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ।

मोरङ प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार गोली लागेर भारतको अररिया, कुशाहाका २२ वर्षीय दीपककुमार बोसाक र कुटुमगन्जका ४० वर्षीय पुरन बोसाक घाइते भएका छन्। दुवैको घुँडामुनि गोली लागेको र उनीहरूको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ।

पक्राउ पर्नेमा उनीहरूसँगै रहेका मोरङको रतुवामाई नगरपालिका–१ चुनिमारीका ३५ वर्षीय प्रमोद ठाकुर पनि छन्।

प्रहरीका अनुसार लागुऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरोको टोली परिचालन गरिएको थियो। सोमबार राति करिब ९ः३० बजे रतुवामाई नगरपालिका–६ शनिश्चरेमा भारतीय नम्बर प्लेट बीआर ३७ भी ३९२६ को मोटरसाइकल र नम्बर नखुलेको अर्को मोटरसाइकलमा सवार तीन जनालाई प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो।

तर प्रहरीलाई देखेपछि उनीहरू भाग्न खोजेपछि प्रहरीले गोली चलाएको डीएसपी मिश्रले बताए। उनका अनुसार चाइनिज पेस्तोलबाट पाँच राउन्ड र ब्रेडा पेस्तोलबाट तीन राउन्ड गरी कुल आठ राउन्ड गोली प्रहार गरिएको थियो।

घटनास्थलबाट प्रहरीले एक थान घरेलु पेस्तोल, त्यसमा लाग्ने एक राउन्ड गोली, करिब ५०० ग्राम खैरो हेरोइन र मोटरसाइकल बरामद गरेको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार पक्राउ परेका व्यक्तिहरू लामो समयदेखि लागुऔषध कारोबारमा संलग्न रहँदै आएका थिए। सीमावर्ती क्षेत्रलाई केन्द्र बनाएर भइरहेको लागुऔषध ओसारपसारको सञ्जाल र यसमा संलग्न अन्य व्यक्तिहरूबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..