काठमाडौं । ब्लुमबर्गका स्तम्भकार बबी घोषले सन् २०२० मा एउटा चेतावनी दिएका थिए, जसमा उनले केरला (भारत) का हरेक दोस्रो घरका रोजगार व्यक्ति अरबमा काम गर्ने तथ्य अघि सार्दै यो अँध्यारो पक्षप्रति सचेत रहनुपर्ने बताएका थिए।
खासगरी रोगजारीका लागि अरबमाथिको निर्भरता, श्रमशक्तिको निर्यात र ठूलो भारतीय जनसंख्याको भविष्य रेमिट्यान्स आयमै टिकेको भन्दै यस्तो अवस्था भारतीय अर्थव्यवस्थाको स्थायित्वका लागि उचित नभएको उनको टिप्पणी थियो।
केरला नभएर समग्र देशमै पनि विदेशबाट भारतीयहरुको घरमा भित्रिने सर्वाधिक रकम अरबका कम्पनीहरुबाट पाएको पारिश्रमिक हुने गरेको मात्र दुई वर्षअघिको तथ्य भने यतिबेला फेरिएको छ। गत वर्ष २०२१ को ताजा तथ्यांकअनुसार भारतमा रेमिट्यान्स पठाउने मुलुकमा अमेरिकाले युएईलाई उछिनेको छ।
कोरोना महाव्याधि उत्कर्षमा पुगेको बेला युएईमा भारतीयहरुले थुप्रै काम गुमाए, जबकि अमेरिकामा भारतीयहरुले आईटी र ‘ह्वाइट-कलर’ रोजगारी पाउने क्रममा राम्रो सुधार आयो। यही कारण अमेरिकाले भारतको प्रमुख रेमिट्यान्स स्रोत मुलुकका रुपमा अन्य सबै मुलुकलाई पछि पारेको हो।
२०२१ मा भारत भित्रिने कुल रेमिट्यान्सको २३% अमेरिकाबाट आएको भारतीय रिजर्भ बैंकको आर्थिक तथा नीति अनुसन्धार विभागका अनुसन्धानकर्ताद्वय सौमश्री तेवारी र रंजिता मिश्रले गरेको रिसर्च पेपरले देखाएको छ।
‘विश्व बैंक प्रतिवेदन (२०२१) ले पनि यसलाई पुष्टि गर्दछ, जसमा अमेरिकी अर्थत्रन्त्रको पुनरुत्थान भारतीय रेमिट्न्यासमा सुधारको प्रमुख कारण भएको उल्लेख गरिएको छ,’ अनुसन्धानकर्ताहरुले बताएका छन्।
भारत संसारमै सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने मुलुक हो। सन् २०२१ मा भारतले ८७ अर्ब अमेरिकी डलर बराबर रेमिट्यान्सबाट प्राप्त गरेको थियो। यो रकम रेमिट्यान्समा दोस्रो र तेस्रो स्थानमा रहेका चीन र मेक्सिकोको भन्दा निक्कै बढी रहेको जनाइएको छ।
२०२१ मा विश्वव्यापी रेमिट्यान्सको १२% भारतले भित्र्याएको थियो। अमेरिकाबाट मात्र २० अर्ब डलरभन्दा बढी (८७ अर्बको २३%) रेमिट्यान्स भारत भित्रिएको हो।
यसरी रेमिट्यान्सवापत भित्रिएको विशाल विदेशी मुद्राले कोभिडबाट अत्यन्त प्रताडित बनेको भारतीय सामाजिक तथा अर्थव्यवस्थालाई ठूलो सहयोग पुगेको पनि जनाइएको छ।


