सिराहा । सिरहाको नवराजपुर गाउँपालिका अन्र्तगत नेपाल–भारत सीमानाकामा दुवै देशका सुरक्षाकर्मीले संयुक्त गस्ती थालेका छन् । सीमा क्षेत्रबाट हुने चोरी, तस्करी नियन्त्रण, मिचिएको सीमाक्षेत्र बढेको तनावलाई कम गर्दै सम्बन्ध प्रगाढ बनाउन नेपाल–भारतका सीमा सुरक्षाकर्मीहरुले संयुक्त गस्ती थालेका हुन् ।
सिरहाको नवराजपुर क्षेत्रको दशगजामा संयुक्त रुपमा दुवै देशका सुरक्षाकर्मीहरु गस्ती गरिरहेका छन् । नेपालको सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बल (एसएसबी) ले नवराजपुरका सीमानाकामा संयुक्त गस्ती जारी राखेको सस्शत्र प्रहरी बल नेपाल , बिओपी नवराजपुरका सस्शत्र प्रहरी निरीक्षक प्रकाश पाण्डेले जानकारी दिए ।
‘सीमामा संयुक्त गस्ती गर्दा अपराधमा कमी आउनुका साथै दुवै देशका सुरक्षाकर्मीबीच सम्बन्धसमेत मजबुद हुन्छ’, उनले भने । सीमामा संयुक्त गस्तीका क्रममा नवराजपुर गाउँपालिका–५ कुसनडीस्थित स्तम्भ नं २४८ देखि २५०.५ को अनुगमन गरिएको थियो ।
नेपालतर्फबाट सस्शत्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट नवराजपुरबाट सस्शत्र प्रहरी निरीक्षक प्रकास पाण्डेको कमाण्डमा खटिएको ४ जना र भारतीय सीमा सुरक्षा बल १८ बटालियन कम्पनी (ए) बर्डर आउट पोष्ट धनुकिबाट प्रहरी नायव निरीक्षक अखिलेस कुमार यादवको कमाण्डमा ५ जनासहित ९ जनाको संयुक्त टोलीले गस्ती गरेको हो ।
सस्शत्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट नवराजपुर अन्र्तगत पिलर नम्बर २४८ देखि २५०.५ पर्ने भएकोले सबै पिलरको अनुगमन गरिने सस्शत्र प्रहरी निरीक्षक पाण्डेले बताए । संयुक्त अनुगमनले चोरी निकासीको घटना कम हुनुको साथै दुवै देशका जनतामा सुरक्षाको प्रत्याभुति भएको सशस्त्र प्रहरीको भनाई छ ।


