वीरगञ्ज । सशस्त्र प्रहरी बलले पर्साको वीरगञ्जमा करिब चार किलो चरेस बरामद गरेको छ ।वीरगञ्ज महानगरपालिका -१६ ईनर्वा गाउँदेखि भारततर्फको अहिर्वा गाउँ जाने कच्ची सडकमा सशस्त्र प्रहरी बलले अपरिचित व्यक्तिले फालेको झोला खोलेर हेर्दा तीन किलो ९०० ग्राम चरेस फेला पारेको हो ।
सशस्त्र प्रहरी बल १३ नं गणबाट खटिएको प्रहरी टोलीले चेकप्वाइन्ट राखेको देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेका एक जना व्यक्तिले तरकारी बोक्ने झोला फालेर भागेका थिए ।
झोला बरामद गरी चेकजाँच गर्दा टेपले बेरिएको आठवटा प्याकेटमा तीन किलो ९०० ग्राम चरेस फेला परेको सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोषकुमार बस्नेतले बताए ।बरामद चरेस आवश्यक कारबाहीको जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।


