काठमाडौँ । काठमाडाैँमा गुणस्तरहीन नक्कली महको उत्पादन र बिक्री गर्ने एकजना पक्राउ परेका छन् । उपत्यकाका विभिन्न स्थानहरुमा गुणस्तरहीन महको उत्पादन एवं बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेर एक जनालाई पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाको विशेष टोलीले कामनपा– २७ ज्याठा बस्ने ३८ वर्षीय नरेश श्रेष्ठ भन्ने नर बहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
उनी ‘नतिजा प्याकेजिङ’का सञ्चालक हुन् । मिसावट गरी गुणस्तरहीन मह बनाइरहेकै अवस्थामा उनलाई पक्राउ गरिएको हो । साथै मह बनाउनको लागि प्रयोग गरिने विभिन्न प्रकारका सामग्री, मेसिन, केमिकलहरु र गुणस्तरहीन मह ७ हजार ६०० किलो तयारी मह र कच्चा महसमेत प्रहरीले बरामद गरेको छ ।
श्रेष्ठमाथि प्रारम्भिक अनुसन्धानपश्चात थप अनुसन्धान कारवाहीको लागि आज (शुक्रबार) महानगरीय प्रहरी परिसर, टेकुमा पठाइएको छ ।प्रारम्भिक अनुसन्धानका क्रममा उनले गुणस्तरहीन मह बनाउनको लागि ३० प्रतिशत ग्लुकोज, ३० प्रतिशत चिनी र बाँकी ४० प्रतिशत मह बनाउन प्रयोग हुने कच्चा पदार्थ मिसावट गर्ने गरेको पाइयो ।
विगत ७ बर्ष अगाडिदेखि श्रेष्ठले निजको श्रीमती रस्मिला श्रेष्ठको नाममा नतिजा प्याकेजिङ सञ्चालन गरी उक्त गुणस्तरहीन मह बनाई बिक्री–वितरण गर्दै आएको खुलेको हो ।उनले नतिजा प्याकेजिङको नाममा कम्पनी दर्ता गरी स्पर्स हनी नामको लेबल टाँसी बिक्री–वितरण गर्ने गरेको प्रहरीले जनाएको छ । उक्त गुणस्तरहीन मह काठमाडौँ, भक्तपुर र पोखराका होटेल, रेष्टुरेन्टहरुमा थोक तथा खुद्रा बिक्री बितरण गर्ने गरेको पाइएको छ ।
मह बनाउन प्रयोग हुने कच्चा पदार्थ दाङ, नवलपरासी र चितवनबाट खरिद गरी गुणस्तरहीन मह बनाउने गरेको र उक्त मह हाल प्रतिकिलो ६५० रुपैयाँको दरमा बिक्री बितरण गर्दै आएको बुझिएको छ । तर उक्त स्पर्स हनी भन्ने ब्राण्ड दर्ता समेत नभएको प्रहरीको ठहर छ ।
उक्त मह खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहलमा परिक्षण गर्दा एएमएफ र एफ/जी अनुपातको मात्रा नेपाल सरकारद्वारा तोकिएको अनिवार्य गुणस्तर अनुरुप नरहेको र मह खान योग्य नरहेको खुलेको छ ।


