काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापाविरुद्ध विशेष अदालतमा चौथो मुद्दा दायर गरेको छ । मेयर भरत थापा विरुद्ध ५६ करोड रुपैयाँको भ्रष्टाचारको अभियोगमा मुद्दा दर्ता भएको हो । माछा पाल्ने निहुँमा संघीय र मधेश प्रदेश सरकारबाट अनुदान लिई राष्ट्रिय वन क्षेत्रमा बिना स्वीकृति पोखरी निर्माण गरी अनियमितता गरेको आरोपमा मधेशका पूर्व अर्थमन्त्री विजय कुमारसहित ८ जनालाई प्रतिवादी बनाइएको छ।
यसअघि रोडाढुंगा र बालुवा उत्खनन गरी भ्रष्टाचार गरेको तथा बागमतीको कर्मैयामा ८० बिघा सरकारी जमिनमा आँपको विरुवा रोपेकोमा वन मुद्दा खेपेका थापाविरुद्ध आइतबार अर्को मुद्दा दायर भएको हो । थापाविरुद्ध हालसम्म ४ वटा मुद्दा दर्ता भइसकेका छन्। ३ वटा अख्तियारले विशेष अदालतमा र १ जिल्ला वन कार्यालय सर्लाहीले जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारका अनुसार आर्थिक वर्ष २०७५÷०७६ देखि २०७९÷०८० सम्म खर्च गरिएको ५६ करोड ७१ लाख रुपैयाँको कुनै प्रतिफल देखिएको छैन। अभियोगपत्रमा बन ऐनको उल्लंघन, झुटा कागजात तयार, र स्वीकृति बिना बजेट निकासा जस्ता गम्भीर अनियमितताहरूको उल्लेख छ।अख्तियारले आइतबार माछा पाल्ने निहुँमा सङ्घीय सरकारसँगै मधेस प्रदेश सरकारबाट ३० करोड अनुदान लिएको र नगरपालिकाको स्रोत समेत गरेर ५६ करोड भ्रष्टाचार गरेको अभियोग लगाएको छ। यसमा थापा र पूर्वमन्त्री सहित ८ जना प्रतिवादी छन्।
प्रतिवादीहरूमा निलम्बित मेयर थापा र तत्कालीन मन्त्री विजय कुमारसहित उपमेयर लीलाकुमारी मोक्तान, प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पौडेल, मधेस प्रदेश अर्थ मन्त्रालयका तत्कालीन कानुन अधिकृत गोकुल भुजेल, तत्कालीन इन्जिनियरद्धय निरञ्जन लामिछाने, सागर पौडेल र लेखा अधिकृत विश्वराज पोखरेल छन्। आयोगले थापाविरुद्ध २०८० चैत २८ गते र २०८१ जेठ २९ गते फरक फरक अभियोग पत्र दायर गर्दै ३५ करोड ३० लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेकोमा गत बैशाख ७ गते सर्लाही जिल्ला अदालतमा पुनः तेस्रो मुद्दा दायर गरेको थियो ।