जनकपुरधाम । नेपाल-भारत खुल्ला सीमानाका कारण मधेश प्रदेशमा अवैध लागूऔषधको ओसारपसार, बिक्री-वितरण र प्रयोग तीव्र गतिमा बढ्दै गएको भन्दै मधेश प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमप्रकाश अधिकारीले यसलाई गम्भीर सुरक्षा तथा सामाजिक चुनौतीको रूपमा प्रस्तुत गर्नुभएको छ।
उहाँका अनुसार प्रदेशका आठवटै जिल्लामा युवा जनशक्ति लागूऔषधको दुर्व्यसनमा फस्दै गएकाले यसको नियन्त्रणका लागि नेपाल प्रहरीले आक्रामक र विशेष रणनीतिसहितको अपरेसन सुरु गरेको छ।
प्रहरीको मुख्य कदम तथा नियन्त्रण रणनीति:
सीमा क्षेत्रमा उच्च सतर्कता: नेपाल-भारत खुल्ला सीमानाका, मूख्य प्रवेशद्वार तथा मुख्य सडकखण्डहरूमा सादा पोशाकका प्रहरी र तालिमप्राप्त कुकुरसहितको चेकिङ र गस्ती टोली परिचालन।
सप्लायर र मुख्य गिरोह लक्षित अपरेसन: प्रयोगकर्तालाई मात्र नभई सीमापारिबाट ठूलो परिमाणमा गाँजा, चरेस, ब्राउन सुगर र नाइट्रोभेट जस्ता प्रतिबन्धित औषधि भित्र्याउने मुख्य नाइकेहरूलाई पक्राउ गर्न विशेष सुराकी परिचालन।
समुदाय-प्रहरी साझेदारी र सचेतना: युवा र विद्यार्थीहरूलाई लागूऔषधको दलदलबाट बचाउन विद्यालय, कलेज र स्थानीय तहमा जनचेतनामूलक अभियान सञ्चालन।
सर्च र सरप्राइज अपरेसन: संकास्पद स्थानहरू तथा लागूऔषधको हटस्पट मानिएका क्षेत्रहरूमा निरन्तर सर्च अपरेसन सञ्चालन गरी ओसारपसारमा संलग्नहरूलाई नियन्त्रणमा लिने कार्य जारी।
डीआईजी अधिकारीले लागूऔषधको समस्या केवल प्रहरीको प्रयासले मात्र समाधान नहुने भन्दै यसलाई निर्मूल पार्न स्थानीय अभिभावक, युवा सञ्जाल, नागरिक समाज र स्थानीय सरकारको सक्रिय सहयोग अपरिहार्य रहेको बताउनुभयो।


