
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको आज निर्वाचन हुँदैछ । दलको नेता चयन गर्न बिहान ८ देखि १० बजेसम्म मतदान हुने कार्यतालिका छ ।
दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दिएका छन् ।


संस्थापनइतर समूहले महामन्त्री थापालाई साझा उम्मेदवार बनाएसँगै दलको नेताका लागि देउवा र थापाबीच प्रतिस्पर्धा हुने भएको हो ।
सभापति देउवाको प्रस्तावक नेता रामचन्द्र पौडेल रहेका छन् भने उपसभापति पूर्णबहादुर खड्का समर्थक रहेका छन् ।
थापाको प्रस्तावकमा डा. शेखर कोइराला रहेका छन् भने समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, नेता प्रदीप पौडेल रहेका छन् ।
कांग्रेस संसदीय दलमा ८९ जना मतदाता रहेका छन् । दलको नेता चुनिन ५० प्रतिशत मत कटाउनुपर्ने हुन्छ । यसअनुसार दलको नेता बन्न ४५ सांसदको समर्थन जुटाउनुपर्ने देखिन्छ ।