राज्यले फेरि फर्काउन सक्ला र मेरो आफ्नो जीवन !

अत्यन्त हृदयविदारक ढंगले विलौना गर्दै रुनुभयो । त्यहाँ भएका सबैका आँखा निथ्रुक्क भिजे । उहाँको हालत देखेर केही महिला आए र समाएर लगे, तर मलाई ती शब्दहरूले हजारौं भोल्टको करेन्टको जस्तो झट्का दिए । म चेतनाशून्य भएँ ।

  • रबिन्द्र केसी

जीवन भन्दा प्यारो के हुँदोरहेछ र मानिसलाई ! जब आफैं बाँच्ने कुरा जटिल हुन्छ तब मानिसलाई अरू कसैको जीवनको पनि त्यति चिन्ता हुँदोरहेनछ । कोरोनाकालमा हामीले व्यहोरेका केही संवेदनाहीन वर्षहरूले यस्तै धेरै पाठ सिकाएर गए । जीवनको क्षणभंगुरता र मानिसको जीवनप्रति चरम आसक्तिको स्पष्ट बोध गराए ।

देशमा कोरोनाको दोस्रो लहर चलिरहेको थियो । लकडाउनले घर, घर जस्ता थिएनन् ! झ्यालखाना जस्ता भएका थिए । टोल, सहर र गल्ली चकमन्न थिए ।

अक्सिजन र सिटामोल पनि नपाएर थुप्रै मानिस मरेका समाचारहरू सुनिन्थे । त्यसमाथि भुईंमान्छेहरूको कथा त अझै कारुणिक थियो । यतिसम्मको दुर्दशा हाम्रो पुस्ताले पहिले कहिल्यै पनि देख्नु-भोग्नु परेको थिएन ।

हाम्रै अफिस पनि कोरोनाको गम्भीर भुमरीमा परेको थियो । धेरै जना साथी अस्पतालमा भर्ना भइसकेका थिए । कतिको अवस्था गम्भीर थियो, कतिमा विस्तारै सुधार आउँदैथियो । नयाँ बिरामी थपिने क्रम पनि रोकिएको थिएन । सबैको मन आत्तिएको हुन्थ्यो, कसैको पनि काममा उत्साह हँदैनथ्यो, जीवन स्वतस्फूर्त भएर चल्दैनथ्यो- जसोतसो धकेलिएको मात्र हुन्थ्यो ।

रबिन्द्र केसी

हरेक दिन जस्तै म बिहान करिब आठ बजे कार्यालय पुगेको थिएँ । सहकर्मी जीवनसँग तेस्रो तलाको बरण्डामा भेट भयो । हामी टाढा टाढै उभियौं र केही औपचारिक कुराकानी गर्‍यौं । बिरामी भएका साथीहरूको बारेमा पनि छलफल भयो । केहीबेर कामको कुरा पनि भयो । अन्त्यमा हामीले एक अर्काको मनोबल बढायौं र आ-आफ्नो काममा लाग्यौं ।

त्यस दिन पनि म अफिसबाट घर आएर बैठक कोठामा बसें तर किन हो मेरो छोरो मसँग कुरा गर्न आएन । पछि थाहा भयो छोरो र श्रीमती दुवै जनालाई बेस्सरी ज्वरो आएको रहेछ । शान्तिले सर्दीको ज्वरो होला भनिन् मैले पनि उनकै कुरामा सही थापें । मलाई भनें कोरोनाकै शंका थियो, आफूलाई सर्ला भन्ने डरले डबल मास्क लगाएँ । दुवै जनालाई एउटै छुट्टै कोठामा व्यवस्थापन गरें । भोलिपल्टदेखि अफिस जान छोडें र उनीहरूको हेरचाहमा लागंे ।

केही दिनसम्म दुवै जनाको ज्वरो कत्ति पनि घटेन, खोकी झन्झन् बढ्दै गयो । सिटामोल र कफ सिरपले खासै फाइदा गरेन । दुवै जनालाई खाना रुचि पनि पटक्कै थिएन, छोरो त अलि अलि खान्थ्यो तर शान्ति भने पटक्कै खान सक्दिनथिन् ।

त्यसदिन उनलाई बल गरेर भए पनि खाऊ न भनेर म रिसाएँ, शान्तिले गहभरी आँसु पार्दै भनिन् ‘रुचेदेखि त खाइहाल्थें नि, घाँटीबाटै छिर्दैन कसरी खानु !’

निकैबेरसम्म उनले खानाको प्लेट हेरिन् र बर् बर् आँसु झार्दै भनिन्, ‘अब त छोराछोरी पनि हुर्के ! बुढासँग बोइङ चढेर घुम्न जाउँला भन्ने धोको थियो !! उठ्नै पो नदेला जस्तो छ यो व्यथाले !!!’

उनले खानाको प्लेट छुँदै छोइनन्, उल्टै सिरकले मुख छोपेर सुतिन् । हिक्क हिक्क गर्दै रोएको आवाज मैले सुनिरहें । कति छिटो मृत्युसँग हार मानिन् शान्तिले भन्ने लाग्यो र मन एकदम भारी भएर आयो । पहिलो पटक जीवनमा ज्यादै नै निरीह भएको महसूस गरें ।

एक हप्तासम्म पनि उनीहरूमा कुनै सुधार देखिएन । किन पहिले नै पीसीआर गर्न लागिनँ भनेर ठूलो ग्लानि भयो । मनमा अनिष्ट कल्पनाहरू पनि आउन थाले । भोलिपल्टै ‘केएमसी’ अस्पताल सिनामंगलमा लगेर दुवैको पीसीआर गराएँ । रिपोर्ट पोजेटिभ आयो । अस्पताल भर्ना गर्ने हरसंभव प्रयास गरें तर सबै व्यर्थ भयो । रातभरि नराम्रा तर्कनाहरूले छोड्दै छोडेनन् ।

सुखद कुरा, त्यही दिन दिउँसैदेखि नै ज्वरो कम भयो । अनुहार पनि उज्यालो देखिन थाल्यो । मनमा आशा पलायो, खुसी भएर चिया बनाएर ल्याएँ, चियासँगै उनीहरूले केही बिस्कुट पनि खाए । मिहिनेत गरेर साँझको खाना पनि बनाएँ, दुवै जनाले अलि-अलि खाना पनि खाए । मेरो खुसीको सीमा रहेन र कठिन युद्ध जितेजस्तो लाग्यो ।

त्यही साँझबाट मोबाइल फोन पनि खोलें । बिरामीलाई खाना खुवाएर जीवनलाई फोन गरें । धेरैपटक घण्टी गयो तर उसको फोन उठेन । मनमा चिसो पस्यो र अरू साथीहरूलाई फोन गरें । जीवन अस्पतालमा मृत्युसँगको कठिन संघर्षमा रहेको थाहा पाएँ । एकछिन अघिको शान्त मन फेरि सिताङ्ग भयो । रात बितिसकेको थियो, कुनबेला उज्यालो होला भन्ने कुराको छट्पटी भयो । त्यो रात जीवनकै चिन्ताले बेचैन भएँ, बिहानीपख मात्र एक झप्को निदाएँ ।

भोलिपल्ट बिहान उठेर शान्तिलाई हेर्न गएँ । उनीहरूमा धरै सुधार आइसकेको रहेछ । हतार-हतार उनीहरूको लागि खाना बनाएँ । नसेलाउने गरी हटकेसमा राखिदिएँ । मानसपटलमा जीवनकै अनुहार घुमिरहेको थियो । कोठामा गएर मोबाइल हेरें, दुईवटा एसएमएस आएका रहेछन् । म्यासेजहरू पढ्न थालें, पढ्दा पढ्दै चिट्चिट् पसिना छुट्यो, हातखुट्टा फतक्कै गल्यो, आँखा धमिलो भयो । थचक्क भुइर्ंमा बसें, भर्खरै पढेको कुरामा विश्वासै लागेन दोहोर्‍याएर हेरें । लेखिएको थियो- राजेश ओझा र नवीन श्रेष्ठको कोरोना उपचारको क्रममा गए राति मृत्यु !

ती आत्मीय मित्रहरूसँगका सुमधुर सम्झनाहरू बिजुलीको गतिमा दिमागमा घुमे । दुवै जना एकदमै हट्टाकट्टा र स्वस्थ थिए । कार्य क्षेत्रमा पनि दुवै जनाको विशिष्ट पहिचान बनिसकेको थियो । अगाडिको क्यारियर पनि त्यत्तिकै उज्यालो देखिन्थ्यो । केही दिन अगाडि मात्रै हामी तीनै जनाले किंग्स वे मा सँगै बसेर कफी पिएका थियौं । त्यस दिनको झझल्कोले मलाई सही नसक्नु बनायो ।

सम्झना आयो, नविनको बुवालाई हरेक हप्ता डायलासिस गर्नुपथ्र्यो । उहाँको किड्नी ट्रान्सप्लान्ट गराइदिने उसको ठूलो धोको थियो । उता राजेशको पनि दश वर्षसम्म बच्चा भएको थिएन । उनीहरू पनि छिट्टै टेस्टट्युब बेबीको प्रक्रियामा जाने तयारी गर्दैथिए । दुर्भाग्यवश उनीहरूलाई मृत्युले अकस्मात् निमोठ्यो । अल्पायुमै उनीहरूले आफ्नो चोला बिसाए । त्यसपछि उनीहरूसँग जोडिएका अनगिन्ती सपना बेवारिस भए ।

नवीनको जीर्ण बुवा र साधना भाउजूको निर्दोष अनुहारहरू आँखामा सल्बलाए । बुवाको जिजीविषा र भाउजूको उजाडिएको मातृत्वका सपनाहरूले छाती चरक्क पारे । कोठामै म ती नमीठा अनुभूतिहरूले गलिसकेको थिएँ तैपनि घरमा कसैलाई केही भनिनँ, चुपचाप गाडी निकालें र अन्तिम संस्कारको लागि गौशाला पुगें ।

केहीबेरपछि सेतो व्यागमा प्याक गरेर दुवै जनाको लास ल्याइयो । भावविहृवल परिवारजनहरू डाँको छोडेर रुन थाले । नवीनको दशवर्षे छोरो आत्तिंदै रुँदै आएर मलाई समायो । 

नवीनको बुवालाई पनि त्यहाँ ल्याइएको रहेछ । उहाँका वृद्ध आँखाहरू पहिलेदेखि नै जलमग्न थिए । मलाई देखेपछि उहाँ झन् भक्कानिनुभयो, मुखबाट आवाज निस्किन सकेन, साउती गरे जस्तो आवाजमा भन्नुभयो ‘मेरो किड्नी फेरिदिन्छु भन्थ्यो, मभन्दा पनि पहिला आफैंले चोला बिसायो !’ उहाँलाई के भनेर सम्झाउँ मैले कुनै शब्द जुटाउन सकिनँ ।

गयो चुपचाप ऊ अब सदाको लागि ! के अब फेरि कहिले फर्केर आउला र ऊ ? राज्यले पनि फेरि फर्काउन सक्छ र मलाई मेरो त्यो आफ्नै जीवन ?

केही बेरमा साधना भाउजू रुँदै मेरो अगाडि आएर भन्नुभयो ‘डाक्टरहरू जाँच्न जानै डराउँथे, बिरामीले आफ्नो जाँच आफैं गर्नुपथ्र्यो, त्यति सिरियस मान्छे, ऊ आफैंले सक्दैनथ्यो । अक्सिजन सकियो कि बाँकी छ हेरिदिने पनि कोही भएन, साँझसम्म त कुराकानी गर्दैथियो, एकै रातमा बेवारिस मृत्यु मर्‍यो मेरो राजेश ।’

म स्तब्ध भएँ । मैले केही भन्न नपाई केही महिलाले उहाँलाई समाएर लगे । राजेशको मायालु अनुहार आँखा अगाडि आइरहृयो । साधना भाउजूका कुराको यथार्थ के होला भन्ने सोचेर मेरो चेतना धमिलो भयो ।

कसलाई के भनेर सम्झाउने भन्ने सोच्नै सकिरहेको थिइनँ, अन्तिम श्रद्धाञ्जलीको समय भयो । दुवैको लास फलामे डण्डीको पर्खालभित्र चौरमा राखिएको थियो । ब्याग बन्द थियो कसैले पनि उनीहरूको अनुहार देख्न पाएनौं । न कुनै संस्कार, न कुनै विधि, न कुनै दागबत्ती न चिता, पिण्ड ! बेवारिस भएर जले उनीहरू बिजुलीको मेसिनमा । नियतिको यो संवेदनाहीन चर्तिकलाले देखेर नरुने त्यहाँ कोही भएन । वातावरण अत्यन्त कारुणिक बन्दै गयो, मैले पनि आफूलाई सम्हाल्न सकिनँ र आँखाबाट अविरल आँसु बगिरहे ।

बाटोभरि, जागिरे जीवनमा सँगै बिताएका धेरै पलहरू मस्तिष्कमा सल्बलाए । सँगै हाँसेका, रोएका र रमाएका अनगिन्ती क्षणका सम्झना आँखाबाट बगिरहे । सोचें, जीवन कर्कलाको पानी भन्दा के फरक रहेछ र !

मन क्षत-विक्षत थियो, ईश्वरसँग जीवनको सुस्वास्थ्यको प्रार्थना गरें । अस्पतालको बरण्डामै मनिषा भाउजूसँग भेट भयो । जखरक्क परेका केशहरू, मैला कपडा र उदास अनुहार लिएर उहाँ बेन्चमा बसिरहनुभएको रहेछ । मैले नमस्ते गरें, उहाँले पनि त्यस्तै गर्नुभयो । उहाँका आँखाहरू एकाएक जलमग्न भए, मैले हेर्न सकिनँ । नजर झुकाएर सोधें, ‘कस्तो छ भाउजू जीवनलाई आहिले ।’

आँसु पुछ्दै उहाँले अवरुद्ध आवाजमा भन्नुभयो, ‘रोई-कराई गर्दा बल्लतल्ल रेमडेसिभिर दिए । इण्डियामा निस्केको औषधि पाए बाँच्छु कि भन्थ्यो, अहिले त बोल्नै नसक्ने भयो । बिरामी आफैं ठीक भए जस लिने, मरे कोरोनाको औषधि छैन भनिदिने, गजबको उपचार हुँदोरहेछ यहाँ ! ईश्वरले त हेर्लान् नि जस्तो लाग्थ्यो त्यो पनि होइन रहेछ !

त्यसपछि उहाँ केही बोल्न सक्नुभएन, मलाई पनि सही नसक्नु पीडा भयो, तैपनि उहाँलाई सम्झाउने प्रयास गरें ।

‘चिन्ता नगर्नुस् भाउजू ! जे-जे गर्नुपर्छ, जहाँ लैजानुपर्छ हामी सबै गर्छौं, उसलाई केही हुँदैन, विस्तारै ठिक हुन्छ ।’

उहाँले उपेक्षापूर्ण नजरले मलाई एक पटक हेर्नुभयो । ओठ टोकेर रुवाइ रोक्दै र झ्यालबाट बाहिरतिर हेरेर चुपचाप आँसु पुछ्न थाल्नुभयो । अरू संवाद हुन सकेन । माहोल सन्नाटापूर्ण भयो । म मर्माहत र किंकर्तव्यविमूढ थिएँ । त्यहीबेला एक जना मैले चिनेको डाक्टरलाई कतै जाँदै गरेको देखें, दौडिएर भेट्न पुगें ।

हाम्रो आपसमा अभिवादनको आदानप्रदान भयो, त्यसपछि कुरा गर्दै अलि पर पुग्यौं । कुरैकुरामा डाक्टरले भन्नुभयो, ‘हजुर जीवन सरलाई हेर्न आउनुभएको होला । उहाँको अवस्था एकदम क्रिटिकल छ । कस्ता कस्ता रोगीहरू पनि ठिक भएका छन् तर त्यति बलियो मान्छेको हालत किन यस्तो भयो ? हामी आफैं पनि ताज्जुब छौं । हरसम्भव प्रयास गरियो, अब छिट्टै भेन्टिलेटरमा लान्छौं होला ।’

कुरा सुन्दासुन्दै आँखाहरू आँसुले रुझिसकेका थिए, मन टुटिसकेको थियो, डाक्टरसमक्ष आफ्नो इच्छा जाहेर गरें, ‘एक पटक भेटाइदिनुस् न डाक्टर साब ।’

डाक्टरले लामो सास लिएर भने, ‘एकातिर हेल्थ प्रोटोकलको कुरा छ, अर्कोतिर तपाईंलाई पनि रिस्क हुन्छ । अब के भेट्नुहुन्छ, उहाँ करिब करिब अचेत अवस्थामा हुनुहुन्छ । अब हामी जो-जहाँ छौं त्यहींबाट प्रार्थना मात्र गर्ने हो ।’

डाक्टरको कुरा सुन्दासुन्दै म भावशून्य भएँ । उनी आफ्नो काममा लागे र म त्यहीं विस्मित भएर त्यहीं उभिइरहें । खुट्टामा शरीर थेगिएन, नजिकैको बेन्चमा थ्याच्च बसें । हातको पानीको बोतल रित्याएँ, अनुहारको पसिना पुछें । सोचें, एउटा बहुआयामिक व्यक्तित्व आज जिन्दगीको अन्तिम सास लिंदैछ । त्यो उज्यालो जून सदाको लागि अस्ताउन लागेको छ । सही नसक्नु भयो ।

दिमागमा मानुषी भाउजू, सानी छोरी ज्योति र नाबालक छोराका निर्दोष अनुहारहरू दिमागमा सल्बलाए । फेरि सोचें, कसरी हिंड्लान् ती जिन्दगीका कठिन बाटाहरूमा !

अनिष्ट तर्कनाहरूमा म डुब्दै थिएँ, बरण्डातिरबाट रुवाबासीको आवाज आयो । उठेर त्यतै दौडिएँ, अघि भेटेकै डाक्टरलाई फेरि देखें, मैले परैबाट बोलाएँ, उनी एकछिन अडिए, म दौडिएर नजिकै पुग्नासाथ उनले भने, ‘सरी ! हि ईज नो मोर, हामीले उहाँलाई बचाउन सकेनौं ।’

मानुषी भाउजू कंकला शब्दमा रुँदै हुनुहुन्थ्यो । जीवनकी वृद्ध आमाका आँखाबाट पनि आँसुका भेल बगिरहेका थिए । छोरी ज्योति र बालक छोरो पनि कौलासिएर रुँदै थिए । जीवन चिरनिऽामा सुतिसकेको थियो तर त्यहाँ मृत्युले निर्मम तमासा देखाउँदै थियो ।

अस्पतालमा धेरै मानिस जम्मा भइसकेका थिए । तर मानुषी भाउजू, आमा र बच्चाहरूलाई सम्हाल्न कोही पनि गएनन् सबैको मनमा कोरोनाकै त्रास थियो । मानवताको निर्लज्ज र लाचार चेहरा त्यहाँ उदांगो भएको थियो । मैले छोराछोरीलाई समाएँ, ती आतंकित कलिला हातहरूले मलाई बेस्सरी अँठ्याए ।

केही समयपछि जीवनको देह सेतो व्यागमा पोको पारेर मुभिङ्ग स्ट्रेचरमा बाहिर ल्याइयो । हामी सबैले पालैपालो अन्तिम दर्शन गर्‍यौं । त्यो सानो छोराले रुँदै रुँदै गएर मृत बावुको दुवै खुट्टा च्याप्प समायो र ढोग्यो । त्यो Åदयविदारक दृश्यले सबैलाई भावविहृवलताको उत्कर्षमा पुर्‍यायो ।

अचम्म ! मानुषी भाउजू त्यतिबेला शान्त हुनुहुन्थ्यो । जसले जता डोर्‍यायो, त्यतै जाँदै हुनुहुन्थ्यो, सायद उहाँ चेतनाशून्य भइसकेको हुनुपर्छ । मेरो मन ज्यादै भारी थियो, तैपनि बिदा हुनुअघि उहाँलाई भेट्न गएँ र सम्झाउँदै भनें, ‘भाउजू, अब आफूलाई सम्हाल्नुस् । यहाँसम्मको मात्रै साथी रहेछ जीवन, भगवानको इच्छाको अगाडि हाम्रो के लाग्दोरहेछ भाउजु !’ मेरो कुरा सुनेर उहाँको अनुहार एकाएक परिवर्तन आयो, उहाँले अचानक रौऽ रूपमा आएर भन्नुभयो, ‘मैले पो त मेरो जीवनसाथी गुमाएँ, मेरा छोरा छोरीहरू पो टुहुरा भए, तपाईंको त के भएको छ !’ उहाँ एकछिन अडिनुभयो र फेरि चिच्याउँदै भन्न थाल्नुभयो, ‘सारा दुनियाँ लकडाउन भनेर आफ्नै घरमा बस्यो तर उसले एक दिन छुटकारा पाएन । कोरोना भन्दा पनि ऊ तपाईंसँग धेरै डराउँथ्यो । तपाई बाध्य बनाउनुहुन्थ्यो उसलाई र ऊ डराई-डराई अफिस जान्थ्यो !’

आङमा पो बर्दी थियो त, शरीर त फलामको थिएन नि ! उसको पनि त परिवार थियो, सपनाहरू थिए ।

मृत्युलाई बिर्सेर सधैं ऊ राज्यको लागि भनेर काममा जान्थ्यो । आखिर मान्छे नै त थियो ऊ पनि । कति दिन छल्न सक्थ्यो र ? एक दिन त अँठ्याइछोड्यो होइन मृत्युले !

तपाईंको त सहकर्मी मात्रै हो जीवन तर हाम्रो त सर्वस्व थियो ! हेर्नुस् त कति चाँडै अस्तायो हाम्रो जीवनको त्यो उज्यालो घाम ! कसरी टुहुरा भए उसका लालाबाला, कसरी बेसहारा भए ती डाँडा माथिको जूनहरू ! गयो चुपचाप ऊ अब सदाको लागि ! के अब फेरि कहिले फर्केर आउला र ऊ ? राज्यले पनि फेरि फर्काउन सक्छ र मलाई मेरो त्यो आफ्नै जीवन ?

अत्यन्त हृदयविदारक ढंगले उहाँ विलौना गर्दै रुनुभयो । त्यहाँ भएका सबैका आँखा निथ्रुक्क भिजे । उहाँको हालत देखेर केही महिला आए र उहाँलाई समाएर लगे, तर मलाई ती शब्दहरूले हजारौं भोल्टको करेन्टको जस्तो झट्का दिए । म चेतनाशून्य भएँ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरी तालिम केन्द्रहरूले व्यावसायिक जनशक्ति उत्पादनमा जोड दिनुपर्ने : प्रहरी महानिरीक्षक सिंह

प्रहरी तालिम केन्द्रहरूले व्यावसायिक जनशक्ति उत्पादनमा जोड दिनुपर्ने : प्रहरी महानिरीक्षक सिंह

धनुषा । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरीको तालिम प्रदायक संस्थाहरूले कुशल एवं व्यावसायिक प्रहरी जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ ।  मधेश प्रदेश..