ठेकेदार अनुप पाण्डेले डेढ करोड ठगेको भन्दै उजुरी दर्ता


दाङ । दाङका ठेकेदार अनुप पाण्डेविरुद्ध डेढ करोड ठगी गरेको आरोपमा प्रहरीमा उजुरी दर्ता भएको छ । पाण्डेविरुद्ध पक्राउ पुर्जीसमेत जारी गरिएको प्रहरी स्रोतले जनाएको छ ।पाण्डे तुलसीपुर उपमहानगरपालिकाका मेयर एवम् एमाले नेता घनश्याम पाण्डेका छोरा हुन् । उनीविरूद्ध नेकपा एमाले घोराही उपमहानगरपालिकाको इन्चार्ज गेहेन्द्र बस्नेतले नै उजुरी दर्ता गराएका हुन् ।


घोराही–तुलसीपुर सडक निर्माणको क्रममा पाण्डेले घोराही उपमहानगरपालिका–१५ भरतपुरका व्यवसायी बस्नेतको टिपर प्रयोग गरेको र भाडा तथा इन्धनबापतको १ करोड ४४ लाख रुपैयाँ नदिएको आरोप छ ।


निर्माण व्यवसायी पाण्डेविरूद्ध बस्नेतले एक महिना अगाडि नै उजुरी दिन प्रहरीमा गएका थिए । तर आवश्यक प्रमाण नपुगेको भन्दै प्रहरीले मुद्दा दर्ता गरेको थिएन । त्यसपछि फेरि थप कागजातहरू जुटाएर बस्नेत प्रहरीमा पुगेपछि मुद्दा दर्ता भएको हो ।

नेकपा एमाले घोराही उपमहानगरपालिकाको इन्चार्ज समेत रहेका बस्नेत केहीदिन अघिमात्र पार्टीको जिल्ला नेतृत्व, इन्चार्ज, पदाधिकारीसहित मुद्दा दर्ताका लागि प्रहरीमा पुगेका थिए । पटक-पटक पैसा माग्दा पनि सम्पर्कमा नआएपछि बाध्य भएर कानुनी उपचार खोज्नु परेको उनले बताए ।
मुद्दा दर्ता भएपछि अदालतबाट पक्राउ पुर्जीसमेत लिसकेको प्रहरी स्रोतले जनाएको छ । पक्राउ गर्न उनको खोजी भइरहेको प्रहरीले बताएको छ ।

निर्माण व्यवसायी अनुप पाण्डेले ठगी गरेको भन्दै जिल्ला प्रशासनका कार्यालयमा पनि १६ जनाले पाण्डेविरुद्ध उजुरी दिएका छन् । ४ करोड ४५ लाख रुपैयाँ ठगी गरेको भन्दै पाण्डेविरुद्ध उजुरी परेको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।

पाण्डेविरुद्ध सोनापुर सिमेन्ट उद्योग, व्यवसायी र मजदुरसमेतले उजुरी दिएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए ।उनका अनुसार प्रशासनमा आएको उजुरी निवेदन चार लेन सडक आयोजना लमहीमा पठाइएको बताए । ‘यो विषय आयोजनासँग सम्बन्धित भएकाले छलफलबाटै विवाद टुंग्याउन आयोजनामै पठाएका छौं,’ उनले भने ।

घोराही–तुलसीपुर सडक विस्तारसँगै कालोपत्रे गर्ने जिम्मा पाएको भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रालिले स्थानीय अनुप पाण्डेको अष्टभैरव निर्माण सेवा कम्पनीलाई पेटी ठेक्का दिएको थियो । तर समयमै काम गर्न नसकेपछि भारतीय निर्माण कम्पनी तथ्यले पाण्डेसँग सम्झौता तोडेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..