काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) र नेकपा ( एकीकृत समाजवादी ) ले पुरानो अडान कायमै राखेपछि सत्तारुढ गठबन्धनको बैठक विना निष्कर्ष सकिए लगत्तै प्रधानमन्त्री शेर बहादुर देउवा एमाले अध्यक्ष निवास बालकोट पुगेका छन । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक निष्कर्षबिहीन भएपछि पत्नीसहित देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका हुन ।
सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि (शुक्रबार) बस्ने संसद बैठकमा जसरी पनि एमसीसी टेबल गर्नुपर्ने अडान राखेका थिए । तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यही अवस्थामा एमसीसी टेबल गर्न नसकिने पुरानै अडान दोहोराएपछि बैठक निष्कर्षविहिन बनेको हो । प्रचण्डको अडानलाई साथ दिदैं नेकपा एकिकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपाल पनि यस्तै अवस्थामा एमसीसी टेबल गर्ने प्रस्तावमा सहमत हुन नसक्ने निष्कर्ष सुनाएका थिए ।
गठबन्धनमा रहेका माओवादी केन्द्र र एकिकृत समाजवादीको अडानकाबीच फागुन १६ सम्ममा एमसीसी पारित गर्नुपर्ने भएकाले भोली नै संसदमा एमसीसी टेबुल गर्नुपर्ने बाध्यता देउवाले सुनाएपछि भोलि फेरि बैठक बस्नेगरि आजको बैठक बिना निष्र्कष सकिएको छ । भोलि बस्ने बैठकअघि एमालेलाई सहमत गराउन सके गठबन्धन टुटाउने योजनासहित अहिले देउवाले एमाले अध्यक्ष ओलीसँग वान टु वान वार्ता गरेका छन । देउवासँगै पुगेकी पत्नी आरजु राणाले समेत ओलीलाई सहयोगका लागि आग्रह गरेकी छन ।
सत्ता गठबन्धनका ५ दलमध्ये ४ दल सरकारमा रहेको उल्लेख गर्दै गठबन्धनभित्र फरक फरक विचार भएकाले अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषयमा सहमति जुटाउन प्रयासरत रहेको सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले गठबन्धन बैठकपछि जानकारी दिएका थिए ।
दलहरुका बीचमा एमसीसीका बारेमा हरेक कोणबाट छलफल भएको र कुनै ठोस निष्कर्ष निस्कन नसकेको उनले बताएका थिए । मन्त्री कार्कीले भने एमसीसी सदनबाटै टुङ्गो लाग्ने दावी गरेका छन् ।


