लहान । नेपाल प्रहरीको सेवा प्रभावकारिताको मूल्याङ्कन तथा सङ्गठनात्मक सुधारका प्रयासहरूमा असल अभ्याससहित पृष्ठपोषण गर्ने उद्देश्यले उक्त निरीक्षण कार्यक्रम सञ्चालन गरिएको हो।
अन्तर प्रहरी कार्यालय कार्यदक्षता केन्द्रीय मूल्याङ्कन समितिका संयोजक एवं नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागका प्रमुख एआईजी शिद्धी विक्रम शाह, डिआईजी दिनेश कुमार आचार्य र एसएसपी मुकुन्द मरासिनीलगायतको टोलीले मधेश प्रदेश प्रहरी कार्यालयको निरीक्षण तथा अवलोकन गरेको हो।
निरीक्षण भ्रमणका क्रममा टोलीले कार्यालयको प्रस्तुतीकरण, सम्पूर्ण शाखाहरू, अभिलेख व्यवस्थापन, जनशक्ति व्यवस्थापन, भौतिक पूर्वाधार व्यवस्थापन, अपराध अनुसन्धानको अवस्था तथा विश्लेषण, प्रशासनिक गतिविधि, सुरक्षा तथा प्रहरी कार्य, हातहतियारको अवस्था र शान्ति सुरक्षाका लागि अपनाइएका नयाँ अभ्यास तथा नवप्रवर्तनीय कार्यहरूको अनुगमन गरेको थियो।
निरीक्षणपश्चात आयोजित कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी विक्रम शाहले कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधन गर्नुभएको थियो।


