काठमाडौं । “नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन (POLICE BATON), २०८३” अन्तर्गत उत्कृष्ट प्रहरी कार्यालय छनौट तथा निरीक्षण भ्रमणका लागि खटिनुभएका कार्य दक्षता मूल्याङ्कन समितिका अध्यक्ष एआईजी शिद्धी विक्रम शाह लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको टोलीद्वारा आज बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुलीको औपचारिक अवलोकन तथा विस्तृत निरीक्षण कार्य सम्पन्न भएको छ।

निरीक्षणका क्रममा टोलीले केन्द्रमा सञ्चालित विभिन्न प्रशिक्षण गतिविधिहरू, अभिलेख व्यवस्थापन, कर्मचारी परिचालन, प्रशिक्षक तथा प्रशिक्षार्थी व्यारेक र मेस लगायतका सुविधाहरूको स्तर एवं गुणस्तरको सूक्ष्म अनुगमन गरेको थियो। यसैगरी, कार्यरत कर्मचारी, प्रशिक्षक तथा प्रशिक्षार्थीहरूको उत्प्रेरणा (Motivation) को अवस्थाबारे जानकारी लिँदै केन्द्रमा उपलब्ध भौतिक संरचनाहरू— कार्यालय परिसर, ड्रिल नर्सरी, बाधापार (Obstacle Course), Heat Emersion pool, time park तथा घडी पार्क लगायतका संरचनाहरूको समेत टोलीद्वारा स्थलगत अवलोकन तथा निरीक्षण गरिएको थियो।निरीक्षण पश्चात् आयोजित विशेष समारोहमा एआईजी शाहले उपस्थित सम्पूर्ण प्रहरी कर्मचारी, प्रशिक्षक तथा प्रशिक्षार्थीहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन सम्बोधन गर्नुभयो।

उहाँले संगठनको प्रतिष्ठा उच्च राख्न व्यावसायिकता, अनुशासन र उत्कृष्ट कार्यदक्षतामा जोड दिनुपर्ने कुरा औंल्याउनुभयो।उक्त विशेष कार्यक्रमको अवसरमा यस केन्द्रमा सञ्चालित प्रहरी जवान आधारभूत तालिम २-२०५ र ६-२०६ औं समूहका प्रशिक्षार्थीहरूले उत्कृष्ट एवं आकर्षक सांगितिक कवाज (Musical Parade) प्रदर्शन गरेका थिए।



