‘बच्चा भुलाउने नाममा बालबालिकालाई मोबाइल-टिभी नदेखाउनुहोस्’

रुपन्देही । बच्चा भुलाउने नाममा बालबालिकालाई मोबाइल-टिभी नदेखाउन चिकित्सकहरूले आग्रह गरेका छन् । मोबाइल-टिभी धेरै समय हेर्दा बालबालिकामा मानसिक, सामाजिक तथा शारीरिक विकासमा बाधा पुग्ने भन्दै चिकित्सकहरूले यस्तो नगर्न आग्रह गरेका हुन् ।

चिकित्सकहरू आवद्ध रहेको रोटरी ई-क्लब अफ मेडिकोफ्युजन हाइब्रिड नेपालले आज ‘बच्चा भुलाउने नाममा बालबालिकालाई मोबाइल-टिभी नदेखाउँ’ अभियान सुरु गर्दै बालबालिकामा मोबाइलको नकारात्मक प्रभावका बारेमा जानकारी गराएको हो । क्लबले रुपन्देहीका विभिन्न नगरपालिकासँगको सहकार्यमा सचेतनामूलक अभियान समेत चलाउने क्लबका अध्यक्ष डा. सन्तोष पोखरेलले बताए ।

डा. पोखरेलका अनुसार बालबालिकाले धेरै समय मोबाइल हेर्दा निद्रामा समस्या, मोटोपना, अटिजम, छिटो रिसाउने, झगडा गर्ने, पढाइमा कमजोर हुने, आँखामा समस्या हुने आफन्तजनसँग घुलमिल नहुने जस्ता समस्या देखिने गरेका छन् ।

पछिल्लो समय मोबाइलको प्रयोगले बालबालिकामा धेरै समस्या देखिएको बताउँदै उनले अभिभावक समेत यस विषयमा सचेत रहनुपर्नेमा जोड दिए । क्लबले बालबालिका बढी जम्मा हुने खोप केन्द्र, मन्टेश्वरी, सार्वजनिक निकायमा राख्ने गरी स्थानीय पालिकाका प्रमुख तथा उपप्रमुखलाई ब्यानर तथा सचेतना सामग्री हस्तान्तरण समेत गरेको छ ।

कार्यक्रममा तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाणले क्लबले सुरु गरेको अभियान निकै सकारात्मक रहेको बताउँदै अभियानलाई साथ दिन तिलोत्तमा नगरपालिका तयार रहेको बताए । तिलोत्तमा बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा भइसकेको सन्दर्भमा ‘बच्चा भुलाउने नाममा बालबालिकालाई मोबाइल-टिभी नदेखाउँ’ अभियान पनि बालमैत्री कार्यक्रमसँगै अघि बढाइने बताए ।

यस्तै देवदह नगरपालिका प्रमुख ध्रुवप्रसाद खरेलले बालबालिकालाई मोबाइल नदेखाउने विषयमा अभिभावक बढी सचेत हुनुपर्ने बताउँदै परिवर्तनको सुरुआत आफैंबाट गर्नुपर्ने बताए । यसैगरी सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारीले क्लबले सुरु गरेको अभियान समाज सुधारको अभियान भएकाले यो अभियानले सामाजिक सचेतना जगाउने बताए । रोटरी ई-क्लब अफ मेडिकोफ्युजन हाइब्रिड नेपालले यसअघि ‘जथाभावी नथुकौँ, थुकले मृत्यु फैलाउँछ’ भन्ने अभियान सञ्चालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..