काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा विवाद मुद्दामा आज सुनुवाइ हुँदै छ । धिरजप्रताप सिंहलाई महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाई शुरु भएकोमा आजका लागि पेसी तोकिएको थियो ।
एआईजी विश्वराज पोखरेलले सरकारको निर्णयविरुद्ध रिट निवेदन दायर गरेका हुन् । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । १९ साउनमा उमेर हदका कारण एआईजी पोखरेलले अवकाश पाउँदै छन् ।
रिट निवेदक पोखरेल र प्रहरी महानिरीक्षक सिंह ११ चैत २०४९ प्रहरीमा सेवा प्रवेश गरेका हुन् । उनीहरु विभिन्न तहको बढुवामा अघिपछि हुँदै आएका थिए ।
प्रहरी नियमावली अनुसार कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व वहन गर्ने सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामथ्र्यको आधारमा सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महनिरीक्षक पदमा बढुवा गर्ने व्यवस्था छ ।


