काठमाडौं । प्रहरीमा नियमित सरुवा नगरी काजसरुवा गर्ने प्रचलन बढेको छ । आजमात्रै प्रहरी प्रधान कार्यालयले ६ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले सोमबार ६ एसपीको काज सरुवा निकालेको छ । जसअनुसार काठमाडौं उपत्यका प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखाका एसपी शान्तिराज कोइराला मोरङमा सरुवा भएका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालयका रामेश्वरप्रसाद यादवलाई सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालय र ऋषिराम कँडेल पश्चिम नवलपरासीमा काजसरुवा भएका छन् । मोरङका एसपी जनार्दन जीसी उपत्यका प्रहरी कार्यालय रानीपोखरी, सिन्धुपाल्चोकका राजन अधिकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोग र पश्चिम नवलपरासीका मनोजकुमार यादव गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा भएका छन् ।
यीमध्ये राजन अधिकारी सिन्धुपाल्चोकमा सरुवा भएको १९ महिनासम्म कार्यरत रहन पाउने भाग्यमानी हुन् । उनी २०७७ भदौ ४ मा सिन्धुपाल्चोकमा सरुवा भएका थिए । गएको बर्षामा गएको सिन्धुपाल्चोक बाढीपहिरोमा सीडीओ उमेश पोखरेल र एसपी अधिकारीले राहत बितरणमा समेत गडबड गरेको आरोप लागेको थियो ।



