काठमाडौंमा अनलाइन जुवा सञ्चालन गर्ने दुई जना प्रहरी नियन्त्रणमा


काठमाडौं। प्रहरीले अनलाइनको माध्यमबाट जुवा सञ्चालन गर्ने दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बाग्लुङ घर भई काठमाडौंको ठमेलमा ठमेल होस्टल सञ्चालन गर्दै आएका राकेश कुमार क्षेत्री र भारत दिल्ली तिलकनगर घर भई ठमेलमा बस्दै आएका जसपाल सिंह रहेका छन् । उनीहरुलाई महानगरीय प्रहरी बृत्त, लैनचौरबाट प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ठमेलबाट पक्राउ गरेको हो ।प्रहरीले उनीहरुको साथबाट अनलाइन जुवासँग सम्बन्धित नगद, चेक, बैंक भौचरलगायतका लिखित सामग्रीहरुसमेत बराममद गरेको छ ।


लामो समय देखि काठमाडौंको ठमेलस्थित एक होटेलबाट अनलाइन जुवा खेलाउने गरिएको खुलासा भएको छ।महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले मंगलवार उक्त होटलको पाँचौं तलामा रहेको २०४ नम्बर कोठामा छापा मार्दा दुई जनालाई अनलाइन जुवा खेलाइरहेको अवस्थामा फेला परेको हो।जुवा खेलाइरहेको अवस्थामा बागलुङका राकेशकुमार क्षेत्री र भारतको दिल्ली घर भएका जसपाल सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ परेका क्षेत्री ४/५ वर्षदेखि अनलाइन जुवामा सक्रिय रहेको खुलेको छ। प्रहरीले गत वर्ष उनलाई जुवा खेलाएको अभियोगमा नियन्त्रणमा लिएको थियो। २०७७ कात्तिक २७ गते प्रहरीले क्षेत्रीलाई नियन्त्रणमा लिएको थियो। कारागारबाट छुटेपछि फेरि उनी अनलाइन जुवा खेलाउन सक्रिय रहेको पुष्टि भएको हो।


क्षेत्रीको कोठाबाट प्रहरीले जुवा खेलाउन प्रयोग हुने क्वाइन, विभिन्न बैंकको चेक, नगद लगायत अन्य जुवाको हिसाबकिताब राखिएको लक बुक समेत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी दीनेशराज मैनालीले जानकारी दिए। प्रहरीले क्षेत्रीको कोठाबाट १ लाख १५ हजार नगद समेत बरामद गरेको थियो। त्यस्तै, २५ लाख रुपैयाँभन्दा बढीको विभिन्न बैंकका चेक तथा भौचर समेत बरामद गरेको छ। पक्राउ परेका भारतीय नागरिक पनि लामो समयदेखि यहीँ बसेर अनलाइन जुवा खेलाउन सक्रिय रहेको खुलेको छ।

उनले अनलाइन जुवा खेलाउन ग्राहकहरू खोज्ने गरेका थिए। यसरी ग्राहक खोजेबापत क्षेत्रीले उनलाई कमिसन दिने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। पैसा भएका मानिसलाई उनले जुवाको लतमा पार्ने गरेका थिए। यसरी जुवा खेल्नेहरुमा विद्यार्थीदेखि व्यापारीसम्म रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।उनीहरुले जुवा खेल्न अनलाइनमा युजर आइडी बनाउने गरेका थिए।

हार जितको रकम विभिन्न अनलाइन माध्यम प्रयोग गरेर पठाउने गरेको समेत अनुसन्धानमा देखिएको हो। प्रहरीले अनलाइन जुवामा संलग्न अन्यहरूको पनि खोजी गरिरहेको छ।माघ ५ गते महानगरीय अपराध महाशाखाको टोलीले कीर्तिपुर नगरपालिकाको विभिन्न स्थानबाट अनलाइन जुवा खेलाउने १२ जनालाई पक्राउ गरेको थियो। उनीहरुले ३ वटा घरमा २४ सै घण्टा सिफ्टवाइज अनलाइनमार्फत जुवा खेलाउन कर्मचारीहरु समेत राखेको देखिएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..