काठमाडौं । लाखौँ रकम खर्चेर नेपाली कांग्रेसको १४ औँ महाधिवेशन स्थल भृकुटीमण्डप वरपर टाँसिएका प्रचार सामग्री (पोष्टर) प्रहरीले च्याँतेर थुपारेको छ ।महाधिवेशन स्थल वरपर राखिएका ती सब्र प्रचार सामग्री सोमबार साँझ प्रहरीले नछुटाई च्याँतेको देखिन्थ्यो ।
दिक्क लागेर हुन सक्छ, कोही प्रहरी पोष्टर च्याँतेर भृकुटीमण्डपको पुष्प वाटिकातिर फालेको पनि देखिन्थे ।
दिउँसोभर प्रचार सामग्री टाँस्न कुनै अवरोध नगरेको प्रहरीले साँझ भने एकाएक गर्दै सबै प्रचार सामग्री च्यातचुत पारिदिएको छ । प्रहरीले प्रचार सामग्री च्याँत्दा कांग्रेसी नेता तथा कार्यकर्ता आफ्ना नेतालाई भोट माग्दै जोशिएर भन्दै थिए– (फलाने नेता) हाइ, हाइ, हाइ ।
निर्वाचन आचारसंहिता महाधिवेन स्थल वरपर कुनै प्रचार सामग्री राख्न नपाइने भए पनि त्यसविपरीत गरिएको भन्दै प्रहरीले पोष्टरलगायत चुनाव प्रचारप्रसार सामग्री साँझ आएर हटाएको छ ।प्रचारप्रसारकै लागि त्यत्रो खर्चेर छपाइएको पोष्टरलगायत प्रचार सामग्री मकैबारीमा बाँदर पसेर स्वाहा पारेजसरी प्रहरीले च्याँतेर मिल्काइदिएको छ ।


