काठमाडौं । भारतबाट ल्याएका चोरीको गाडीसहित प्रहरीले काठमाडौंमा दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले वौद्धबाट दुईवटा चोरीको गाडीसहित मुस्ताङ घर भई वौद्ध बस्ने आग्या गुरुङ र भारत पश्चिम बंगाल घर भई वौद्ध बस्ने सोनाम टासी योल्मोलाई पक्राउ गरेको छ ।
बरामद गाडी भारतबाट चोरेर नेपाल ल्याएको हुन सक्ने उपत्यका अपराध अनुसन्धान नियन्त्रण कार्यालयका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङले जानकारी दिए । उनका अनुसार बरामद गाडीमध्ये एउटामा नेपाली नम्बर प्लेट र एउटामा भारतीय नम्बर प्लेट नै भेटिएको थियो । ‘भारतबाट नै चोरेर ल्याएको देखियो, विस्तृत अनुसन्धान हुँदैछ’ उनले भने ।
उनीहरुले यसअघि पनि भारतीय गाडी ल्याएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान शुरु गरेको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।


