वीरगञ्ज । पर्साबाट प्रहरीले बाल विवाह गराएको कसुरमा बेहुलासहित ३ जनालाई पक्राउ गरेको छ ।पकाहामैनपुर गाउँपालिका– १ धोरे बस्ने २४ वर्षीय विशाल सहनी, ६५ वर्षीय ठग सहनी र बाराको प्रसौनी गाउँपालिका– ५ बेल्हिया पनटोका बस्ने ४८ वर्षीय महेश सहनी पक्राउ परेका हुन् । विशाल बेहुला हुन् ।
स्थानीय १८ वर्षीया किशोरी र विशालको बिहे १७ गते धोरेस्थित भुटनदेवी मन्दिरबाट भएको थियो ।बाल विवाह गर्ने तथा गराउने कार्यमा संलग्न रहेकोले उनीहरुलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको पर्साका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।मुलुकी अपराध संहिताको दफा १७३ मा बीस वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नहुने उल्लेख गरिएको छ ।
त्यसरी भएको विवाह स्वतः बदर हुनेछ । भने कसुर गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले किशोरी आफैं प्रहरीको सम्पर्कमा आएको जानकारी दिए ।
‘बालिकाले बस्न नचाहेपछि प्रहरीको सम्पर्कमा आएकी थिइन्, दुवै पक्षको अभिभावकलाई बोलाएर जन्मदर्ता हेर्दा बालिकाको उमेर १८ वर्ष मात्रै पुगेको रहेछ’ उनले भने ‘त्यसैले अभिभावक र दुलाहालाई पक्राउ गरी बालविवाह सम्बन्धी कसुरमा मुद्धा चलाएका छौं ।’


